धनकुटामा १ हजार ५९६ किलो गाँजा र १ हजार ७१६ ट्याब्लेट लागूऔषध नष्ट
धनकुटा,१९ कार्तिक । धनकुटामा प्रहरीले विभिन्न मिति र समयमा बरामद गरेको १ हजार ५९६ किलोग्राम गाँजा र प्रतिबन्धित लागूऔषधका १ हजार ७१६ ट्याब्लेट जलाएर नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार अनुसन्धान प्रक्रिया पूरा भएपछि आज दिउँसो करिब १२ः३० बजे लागूऔषध नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतका प्रहरी कार्यालयबाट बरामद गरिएका उक्त लागूऔषध प्रहरी निरीक्षक मयंक मिश्राको कमाण्डमा खटिएको टोलीले धनकुटा नगरपालिका–९, मुलघाटस्थित तमोर नदी किनारमा जलाएर नष्ट गरेको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध नियन्त्रण तथा अवैध कारोबारविरुद्धको अभियानलाई निरन्तरता दिँदै आएको छ।




