उदयपुरमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। दुर्घटनामा एक बालिकासहित १० जना घाइते भएका हुन् भने एक बालिका सकुशल रहेकी छन्।
आज दिउँसो १२:४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ।
काठमाडौँ महानगरपालिका–३२ निवासी करिब ४२ वर्षीय कृष्ण केसीले चलाएको उक्त माइक्रोबसमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालक केसीसहित १० जना घाइते भएका छन्।
घाइते हुनेमा झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईं र उनका १४ वर्षीय छोरा नैन प्रसाईं, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रवीण तामाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम तथा उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन्।
दुर्घटनामा परेकी रेणुका प्रसाईंकी १० वर्षीया छोरी निरुसा प्रसाईं भने सकुशल रहेकी छन्।
घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।


