खोटाङमा गोठमा आगलागी हुँदा ७० वर्षीय वृद्धको मृत्यु
खोटाङ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा गोठमा आगलागी हुँदा ७० वर्षीय वृद्धको जलेर मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय धिरजबहादुर राई रहेका छन्। परिवारबाट छुट्टिएर करिब एक वर्षदेखि रातमाटेस्थित बारीमा गोठ बनाएर एक्लै बस्दै आएका राई गोठभित्र मृत अवस्थामा फेला परेका हुन्।
वडाध्यक्ष हेमन राईका अनुसार राईले गोठमा सुन्तलाखेती र सुङ्गुरपालन गर्दै आएका थिए। आफैँले अगेनामा बालेको आगो गोठमा सल्किएर घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि आगलागीको वास्तविक कारण र घटना भएको समय खुल्न सकेको छैन।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटिएर अनुसन्धान सुरु गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको प्रहरीले जनाएको छ।


