सुनसरीमा १ लाख ६१ हजारभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद
सुनसरी। सुनसरीको गढी गाउँपालिकाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा तथा जुत्ता–चप्पल बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार साँझ करिब ७ बजे गढी गाउँपालिका–२ औराबनीस्थित इँटाभट्टा नजिकबाट उक्त सामान बरामद गरिएको हो।
प्रहरी टोलीलाई देखेपछि दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार चालकले सामान बोकेको बोरा फालेर मोटरसाइकलसहित फरार भएका थिए।
प्रहरीले उक्त बोरा खोलेर जाँच गर्दा अन्दाजी १ लाख ६१ हजार ९ सय रुपैयाँ बराबरका भन्सार छलीका लत्ताकपडा तथा जुत्ता–चप्पल फेला पारेको जनाएको छ।
बरामद सामान आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। फरार मोटरसाइकल र चालकको पहिचान तथा खोजतलास भइरहेको प्रहरीले जनाएको छ।


