नवलपरासी बस दुर्घटना अपडेट : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो (नामावली सहित)
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा भएको यात्रुवाहक बस दुर्घटनामा घाइते हुनेको संख्या ३३ पुगेको छ। दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ।
आज बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको यात्रुवाहक बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको थियो।
दुर्घटनापछि सुरुमा २५ जना घाइते भएको विवरण सार्वजनिक भए पनि थप विवरण संकलन गर्दा घाइतेको संख्या ३३ पुगेको हो। बसमा चालकसहित ४१ जना सवार रहेको खुलेको छ।
दुर्घटनामा घाइते भएकामध्ये एक जनालाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज र ३२ जनालाई मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ। उनीहरूको उपचार भइरहेको छ।
दुर्घटनामा घाइते हुनेहरूमा कैलालीको धनगढी उपमहानगरपालिका–११ का ३९ वर्षीय शिवदत्त राना, दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ३२ वर्षीय केशव धामी र उनकी ९ वर्षीया छोरी प्रतीक्षा धामी, दार्चुलाकै लेकम गाउँपालिका–५ का ३४ वर्षीय दयाकृष्ण जोशी तथा २८ वर्षीय रमेश जोशी र उनकी ७ वर्षीया भतिजी श्रुती जोशी रहेका छन्।
त्यसैगरी, दार्चुलाको मार्मा गाउँपालिका–२ की १४ वर्षीया नविना भट्ट, दुहुँ गाउँपालिका–४ का २० वर्षीय रोहित लोथेल, बैतडीको दशरथचन्द नगरपालिका–५ की ७८ वर्षीया धाना चन्द र उनका ३९ वर्षीय छोरा प्रेमबहादुर चन्द, गोदावरी नगरपालिका–१० कैलालीका ३७ वर्षीय डम्बरबहादुर माली तथा गोदावरी नगरपालिका–२ का १९ वर्षीया खेमा मल्ल र उनकी २८ वर्षीया दिदी शोभा मल्ल पनि घाइते भएका छन्।**
यसैगरी, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ की २० वर्षीया जेनी राना, डोटीको शिखर नगरपालिका–११ का ३० वर्षीय बसन्त बलायर, अछामको चौरपाटी गाउँपालिका–२ का १७ वर्षीय अमित साउद, बैतडीको पुर्चौडी नगरपालिका–१ का ३१ वर्षीय राजेन्द्र जोशी, उनकी ३० वर्षीया श्रीमती भागरथी जोशी र २ वर्षीया छोरी रेणुका जोशी घाइते भएका छन्।
धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका–५ का १८ वर्षीय भानु यादव, बैतडीको मेलौली नगरपालिका–२ का २१ वर्षीय महेश बिसी, डडेल्धुराको नवदुर्गा गाउँपालिका–३ का ४२ वर्षीय डम्बर सिंह साउद तथा अमरगढी नगरपालिका–४ का ४० वर्षीया गीता कठायत र २० वर्षीया रक्षा कठायत पनि दुर्घटनामा घाइते भएका छन्।
त्यस्तै, कैलालीको घोडाघोडी नगरपालिका–२ की २२ वर्षीया चाँदनी खत्री, धनगढी उपमहानगरपालिका–४ की २० वर्षीया जानु चौधरी, डडेल्धुराको भागेश्वर गाउँपालिका–३ की २० वर्षीया पुष्पा भाट र २३ वर्षीया पवित्रा रावल, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २५ वर्षीया प्रिया साउद तथा डोटीको सिलगढी नगरपालिका–१० का १८ वर्षीय अंकित यादव, २४ वर्षीया ज्योति बुडाल र उनका १५ वर्षीय भाइ धिरज बुडाल घाइते भएका छन्।
दुर्घटनामा संलग्न बसका चालक कैलालीको लम्कीचुहा नगरपालिका–१० निवासी ४७ वर्षीय ठग्गराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

