बराह सहकारी ठगी प्रकरणमा संस्थापक शिवकुमार सहित दुई जना पक्राउ
सुनसरी । बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी गरेको आरोपमा फरार रहेका संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) सहित दुई जना पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको विशेष प्रहरी टोलीले मंगलबार सुनसरीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बराह सहकारीका संस्थापक ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र सहकारीको ऋण उपसमिति सदस्य तथा ग्राहक सेवा (कस्टमर केयर) कर्मचारी ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन् ।
प्रहरीका अनुसार शिवकुमारको स्थायी जन्मस्थान धरान उपमहानगरपालिका–१२ भए पनि उनी काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका थिए । भण्डारी धरान उपमहानगरपालिका–१५ की हुन् । उनी बराह ग्रुपको कोशी प्रदेश सचिवालयकी सदस्यसमेत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बराह बचत तथा ऋण सहकारी संस्थाविरुद्ध १७ हजार १० जना पीडितको तर्फबाट शंकर थापासहित ४ हजार २४३ जनाले जाहेरी दिएका छन् । उक्त मुद्दामा कुल बिगो १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ रहेको छ ।
धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीसँग आबद्ध भई नेपालमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरिएको तथा विभिन्न मितिमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन र ठगी गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका दुवै जनामाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।

