उदयपुर, झापा र सुनसरीबाट लागूऔषध सहित तीन जना पक्राउ
विराटनगर, मंसिर २। कोशी प्रदेशका उदयपुर, झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
मंसिर १ गते विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–८, राजावास साहीखोलाबाट एक जनालाई पक्राउ गरेको हो।
स ५ प ५२७९ नम्बरको मोटरसाइकलमा सवार स्थानीय ३० वर्षीय रुपेश दनुवारको साथबाट २६ ग्राम ९०० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धित औषधि ५२ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–११ का २१ वर्षीय कुरु उरावलाई ४५० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।
यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१९ की २१ वर्षीया सलिना परियारलाई आफ्नै डेरा कोठाबाट ३२० मिलिग्राम ब्राउन सुगरसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

