पिकअप जिप र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते
नवलपरासी पूर्व । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
मंसिर ९ गते राति करिब ९ बजे लु.२ च. ८९९७ नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको लु.२ त. २४१७ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दी निवासी ३० वर्षीय चुरेन्द्र चौधरी घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा राति १०:३५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, ३ जनाको मध्यम र ८ जनाको सामान्य रहेको जनाइएको छ ।
गम्भीर घाइते अश्विन चौधरी र निर्मल चौधरीलाई थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । मध्यम तथा सामान्य घाइतेमध्ये केहीलाई पनि थप उपचारका लागि सोही अस्पताल पठाइएको थियो भने अन्य घाइतेहरू विभिन्न अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
