ब्राउन सुगर र मोटरसाइकल सहित धरानका दुई युवक पक्राउ
सुनसरी । सुनसरीको रामधुनीमा लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र मोटरसाइकलसहित दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मंसिर ११ गते साँझ रामधुनी नगरपालिका–५ शिवचोकमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
इनरुवाबाट झुम्कातर्फ आउँदै गरेको को ९ प १६२ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई शंका लागेर खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ ७६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ का २० वर्षीय लाजेदाङ लिम्बु मोटरसाइकल चालक र धरान–२ का १९ वर्षीय सोभान राई पछाडि सवार रहेका थिए।
उनीहरूलाई बरामद लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
