संवैधानिक अदालतको आदेशमा दक्षिण कोरियाली राष्ट्रपति पदमुक्त
पार्कको समर्थनमा प्रदर्शन गर्ने दुई सहभागीको मृत्यु
सोल, २७ फागुन । दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेलाई संवैधानिक अदालतको आदेशबाट शुक्रबार पदमुक्त गरिएको छ ।
उहाँलाई पदमुक्त गर्ने फैसला सुनाउने निर्णय अदालतका आठ जना न्यायाधीशहरुले सर्वसम्मत रूपमा गर्नु भएको हो । इजलाशको नेतृत्व गर्नुभएका कार्यवाहक प्रधानन्यायाधीश लि जुङमीले फैसला सुनाउदा संञ्चार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।
कानुनतः अदालतको यो फैसला तत्काल कार्यान्वयन हुनेछ । अव पार्कले राष्ट्रपतिको सरकारी निवास ब्लु हाउस तत्काल छोड्नु पर्दछ भने राष्ट्रपतिको अधिकार सवै नयाँ राष्ट्रपतिमा सरेको छ ।
उहाँ अदालतको आदेशबाट पदमुक्त हुने कोरियाको एक मात्र राष्ट्रपति हुनुहुन्छ । महाअभियोग लाग्ने राष्ट्रपतिहरु मध्ये उहाँ दोस्रो हुनुहुन्छ ।
यसअघि सन् २००४ मा तत्कालिन राष्ट्रपति रो मोह्युनलाई पनि निर्वाचनको बेला आफ्नो पार्टीलाई समर्थन गर्न मतदाताहरुलाई आह्वान गरेको आरोपमा महाअभियोगको प्रस्ताव गरिएको थियो । तर झण्डै दुई महिनापछि उहाँलाई माफी दिइएको थियो । उहाँको कामबाट निर्वाचन कानुन उलङ्घन भएको भएपनि महाअभियोग नै लगाउनु पर्ने खालको नभएको फैसला भएको थियो ।
राष्ट्रपति पार्कलाई आफ्नो पदको दुरुपयोग गरेको अभियोग लागेपछि राजीनामा माग गरिएको थियो ।
गत बर्षको डिसेम्बर ९ देखि पार्कलाई महाभियोग लगाउने प्रस्तावमाथि संसदमा छलफल भएको थियो ।
सन् २०१६ को डिसेम्वरमा कोरियाली संसदले पार्क विरुद्ध महाभियोग लगाउने प्रस्तावलाई आवश्यक दुई तिहाई मतमार्फत प्रस्तावलाई पास गरेको थियो । यसपछि पार्कका वकीलले पार्कमाथि शक्तिको दुरुपयोग गरेको भनी लगाइएको आरोप गलत भएको भन्दै महाभियोग लगाउनु अन्यायपूर्ण भएको भन्दै अदालतमा पुग्नु भएको थियो ।
महाभियोग पास भएपछिका ९२ दिनवीचमा पार्कमाथिको मुद्दामा जम्मा २० वटा सुनुवाई भएका थिए ।
पार्कको समर्थनमा प्रदर्शन गर्ने दुई सहभागीको मृत्यु
दक्षिण कोरियाको संसदबाट महाभियोग लगाइनुभएका राष्ट्रपति पाक ग्युन हेको मुद्दामा फैसला आउनुपूर्व शुक्रबार संवैधानिक अदालतको परिसर नजिकै प्रदर्शन गरिरहेका दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरूको निधनको कारण अज्ञात रहेको बताइएको छ । प्रदर्शन गरिरहेका पार्कका समर्थक एक्कासी बेहोस भएपछि नजीकैको अस्पतालमा पु¥याइएको थियो तर अस्पतालले उनीहरूलाई तत्कालै मृत घोषणा गरेको थियो । मृतकमध्ये एक जना करिब ७० बर्षका भएका कोरियाली नागरिक भएको पुष्टी भएको छ भने दोस्रो व्यक्तिको उमेर थाहा हुनसकेको छैन ।
प्रदर्शनमा सहभागीमध्ये १० जनालाई श्वास्थ्य सक्वन्धि समस्या भएको पाइएपछि नजीकैको अस्पताल पठाइएको अग्नी नियन्त्रक अधिकारीले जनाएका बताइएको छ ।
शुक्रबार हजारौं पार्क समर्थकले अदालत परिसर बाहिर भएको प्रदर्शनमा सहभागीता जनाएका थिए ।


