भारत हुँदै दुबई पुर्‍याइएका ४४ नेपाली महिलाबारे सीआइबीले अनुसन्धान सुरु गर्यो

काठमाडौं, वैशाख २० । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युएई)को दुबई पुगेका ४४ जना नेपाली महिलामध्ये मंगलबार १२ जना नेपाल फिर्ता पठाइएकोमा बुधबार थप ३२ जना आइपुगेका छन् ।

उनीहरूलाई दलालले भारतको दिल्लीको विमानस्थलबाट सोमबार साँझ दुबई पुर्‍याएकोमा आवश्यक कागजात नभेटिएपछि त्यहाँको अध्यागमनले नेपाल फिर्ता गरिदिएको थियो ।

राहदानीमा कुनै देशको पनि प्रवेशाज्ञा नलागेका उनीहरुले आफूहरु केन्या जान लागेको भन्दै दुबई पुगेकोमा त्यहाँबाट दलालले कुवेत लैजाने तयारी गरेको थियो ।

केन्यामा नेपालीलाई ‘अन अराइभल भिसा’ अर्थात् जानेबित्तिकै प्रवेशाज्ञा दिने प्रावधानको फाइदा उठाउँदै उनीहरु भारतीय विमानस्थलमा ‘सेटिङ’ मिलाएर गएको अनुसन्धानकोक्रममा खुलेको छ ।

फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि अहिले माइती नेपालको जिम्मा लगाएको विभागका महानिर्देशक गंगाराम गेलालले जानकारी दिए ।

उनीहरुलाई मनोसामाजिक परामर्शका लागि माइती नेपालमा पठाइएको र लैजाने गिरोहबारेसमेत अनुसन्धान भइरहेको उनले बताए ।

उनले भने–‘मंगलबार १२ जना र बुधबार थप ३२ जना महिला दुबईबाट फिर्ता भएका छन् । उनीहरु सबैलाई तराईका विभिन्न सीमानाका हुँदै स्थलमार्गबाट भारत लगिएको पाइयो ।’

यसरी फिर्ता हुनेमा कन्चनपुर, बर्दिया, काभ्रेपलाञ्चोक, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका रहेका छन् । केही महिला त चार महिनासम्म दिल्लीमा बसेर दुबई लगिएको भेटिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लेसमेत यो घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक मीरा चौधरीले सो घटनाबारे ब्युरोले अनुसन्धान सुरु गरेको र यसमा संलग्न गिरोहको छिट्टै पहिचान हुने बताइन् ।

दुबईबाट दिल्ली फिर्ता गरिएका एअर इन्डियाको दिल्ली उडानबाट काठमाडौं आइपुगेका हुन् ।

विभागका महानिर्देशक गेलालले यस घटनाबाट भारत हुँदै अवैधरुपमा खाडीमा पठाउने ठूलो गिरोह सक्रिय रहेको खुलेकाले त्यसलाई रोक्न मन्त्रालयमार्फत् कूटनीतिक ढंगले भारत सरकारसँग कुरा गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गरे ।

फर्किएकाले दिएको प्रारम्भिक बयानमा आफूहरु घरेलु कामदारकोरुपमा कुवेत जान लागेको बताएका छन् । भारतबाट जाँदा उनीहरु अफ्रिकीमुलुक केन्या जान लागेको भनी त्यहाँको विमानस्थलमा विवरण लेखाएका थिए ।

यसअघि उत्तर प्रदेशको वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल हुँदै युएईको शारजाह जान लागेका ३६ जना नेपाली महिलालाई गत हप्ता विमानस्थलबाट भारतीय प्रहरीले रोकेको थियो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडीका राष्ट्रहरूमा घरेलु कामदारमा पठाउन रोक लगाउने निर्णय गरेपछि पछिल्लो समय भारत हुँदै अवैधरुपमा खाडीमा जानेको संख्या बढ्दै गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖