प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च फर्कने
एमालेले भन्यो,- अदालतको फैसला स्वागतयोग्य छ
काठमाण्डौं, बैशाख २२ । प्रधानन्यायाधीश सुशीला कार्की आइतबार सर्वोच्च अदालत फर्कने भएकी छन्। उनले आइतबारबाटै आफ्नो कार्यभार फेरि सुरु गर्ने सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए।

सर्वोच्चले शुक्रबार कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथि अन्तरिम आदेश जारी गर्दै उनलाई आजकै मितिबाट काममा फर्काउन आदेश दिएको थियो।
‘आज कार्यालय समय सकिएको र भोलि शनिबार परेकाले उहाँले अब आइतबार मात्र सर्वोच्च आएर कार्यभार सम्हाल्नुहुनेछ,’ प्रवक्ता पौडेलले सेतोपाटीसँग भने। प्रधान्यायाधीश कार्कीको म्याद जेठ २४ गतेसम्म छ।
प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै दायर रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश चोलेन्द्रशमसेर राणाले अन्तरिम आदेश दिएका हुन्। संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि निलम्बित रहेकी कार्कीलाई न्यायाधीश राणाको इजलासले आजैका मितिदेखि पूर्ववत् अवस्थामा सर्वोच्च अदालतको काममा फर्काउन अन्तरिम आदेशसमेत दिएको छ।
महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्तविपरीत भएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन सरकार र संसदका नाममा अन्तरिम आदेश जारी गरेको हो।
सत्तारुढ दलहरु कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश काकीविरुद्ध गत आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। त्यसको भोलिपल्टै अधिवक्ता सुनीलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले महाअभियोगविरुद्ध रिट दायर गरेका थिए।
अदालतको फैसला स्वागतयोग्य छ: एमाले
नेकपा (एमाले) ले सर्वोच्च अदालतले ‘प्रधानन्यायाधीश सुशीला कार्कीलाई सोही पदमा फर्कन र उहाँविरुद्ध संसद्मा प्रस्तुत महाभियोग प्रस्ताव अघि नबढाउन’सम्बन्धी आज दिएको आदेशको स्वागत गरेको छ ।
एमालेका सचिव योगेश भट्टराईले अदालतको आदेशपछि सत्ता गठबन्धनलाई नैतिक सङ्कट परेको टिप्पणी गर्दै आदेशले आफ्नो पार्टीले उठाएको विषय सही साबित भएको प्रतिक्रिया दिनुभयो । रासस


