आज तपाईंले हालेको मत लुटे, भोलि तपाईंकै सम्पत्ति लुटे के गर्ने ? (भरतपुरबासीलाई खुल्ला पत्र)

आदरणीय भरतपुर वडा नम्बर १९ का आमाबुवा, दाजुभाई, दिदीबहिनीहरु, यहाँहरु सबैमा हार्दिक नमन् !

यतिबेला देशका लाखौँ जनताको ध्यान तपाईंहरुको वडामा केन्द्रीत छ । पहिलो चरणको निर्वाचनको भरतपुरको मतगणनाको अन्तिम परिणामको आशामा रहेका लाखौँ जनतालाई मध्यरात एकैचोटी मतपत्र च्यातिएको खवरले स्तब्ध बनायो। हारिने वा जितिने बाहनामा जुन प्रकारले तपाईंहरुको मत च्यातियो त्यो सम्पूर्ण हामी नेपाली जनताको लागि लज्जाको विषय मात्र होइन्, निन्दनीय र भर्त्सनायोग्य छ ।

एउटा वास्तविक कुरा के हो भने प्रजातान्त्रिक बहुदलीय ब्यवस्थामा निर्वाचन अपरिहार्य छ र निर्वाचनमार्फत जनताले गरेको अभिमतलाई स्वीकार र सम्मान गर्नु हरेक राजनीतिक दलको धर्म र कर्तव्य हो। तर, जनमतलाई लात मार्दै जुन प्रकारले मत च्यात्ने काम भयो, त्यो मत च्यात्नु, आफ्नो आमा, दिदीको बस्त्र च्यातेर नाङ्गै पार्नु एकै हो। विश्व इतिहासमा जतिपनि महान ब्यक्तिहरु जसले हारलाई सहर्ष स्वीकार गरी अघि बढेर नै सफलताको शिखरमा पुगेका छन् । चाहे अव्राहम लिङ्कन, चाहे महात्मा गान्धी, अल्वट आइन्स्टान, चाहे नेल्सन मन्डेला, अब्दुल कलाम । हार खानु ठूलो कुरा होइन्, तर हार खाएर उठ्न नसक्नु ठुलो चुनौती हो । त्यसैले भनिन्छ, बेइमानीपूर्वक जित्नु भन्दा स्वाभिमान पूर्वक हार्नु महान् हो । तपाईंहरुमा यो सबै ज्ञान छ, तपाईंहरुको वडामा पुनः मतदान हुँदैछ । फेरि पनि मत माग्न आउने कार्यकर्ता र नेताहरुलाई केही प्रश्न सोध्न नर्बिसनुहोला ।

जनमतलाई लात मार्दै जुन प्रकारले मत च्यात्ने काम भयो, त्यो मत च्यात्नु, आफ्नो आमा, दिदीको बस्त्र च्यातेर नाङ्गै पार्नु एकै हो।

१) आफ्नो अनुकुल नतिजा नआउँदा मतपत्र च्यात्नेले भोलि आफूले भने अनुसार नहुँदा भरतपुर महानगरको योजना लागू होला ?

२) तपाईँको मतको सम्मान नगर्नेले भोलिको समृद्धिको सपना पूरा गर्लान ?

३) आज मतगणनास्थल कब्जा गर्नेले भोलि तपाईंको घरजग्गा कब्जा नगर्लान भन्ने के आधार छ ?

४) कोही एक ब्यक्तिको बिजय र पराजयका लागि पुनः मतदान गरेर राज्यले किन सरकारी ढुकुढी रित्याउँदैछ ?

५) पलपलको समयको महत्व नबुझेर किन समय बर्बाद गरिदैँछ ?

६) यो देशमा सतिप्रथा अन्त्य भएको धेरै भयो, तर एक राजनीतिक पार्टीसँग अर्को राजनीतिक पार्टीले घाँटी जोडे्ने प्रवृत्ति राजनीतिक सतिप्रथा अझै कायम राख्दै जनतालाई वलीको बोका किन बनाइ राख्ने ?

हुनसक्छ यसपटक तपाईंहरुलाई पैसा, पद, पावरको र आर्थिक, भौतिक प्रलोभन आउँछ तर सचेत रहनुहोस यी सबै राजनीतिक आश्वासन हुन्, यी आ आफ्ना राजनीतिक अभिष्ट पूरा गर्नका लागि हो । अब एकपटक कुनै पार्टीको कार्यकर्ता बनेर होइन्, स्वतन्त्र जनता भएर सोच्नुहोस । कसैको दबाब, अभाब र प्रभाबमा होइन्, आफ्नै स्वभावबाट निर्णय गर्नुहोस । तपार्इंको वडाको पुनःमतदान र मतगणनाको असर देशव्यापी रुपमा पर्ने निश्चित छ । हार्ने अवस्थामा बलजफ्ती मतपत्र च्यात्ने कार्य अन्य सयौँ ठाउँमा हुनसक्छ ।

अब एकपटक कुनै पार्टीको कार्यकर्ता बनेर होइन्, स्वतन्त्र जनता भएर सोच्नुहोस । कसैको दबाब, अभाब र प्रभाबमा होइन्, आफ्नै स्वभावबाट निर्णय गर्नुहोस ।

यिनै राजनीतिक दलहरु र नेतृत्व हुन्, जसको कारण आज लाखौँ नेपाली उर्जाशिल युवाहरु विदेशी खाडी मुलुकमा पसिनासँग पैसा साट्न बाध्य छन् । स्रोत र साधनले सम्पन्न देश आर्थिक रुपमा बिपन्नताको परिचय बनेको छ ।

आदरणीय आमा बुबा, तपाईंको बिदेश पलायन छोराको भविष्य सोच्नुहोस् । तपाईंका भर्खर बिद्यालय जाँदै गरेका वालवालिकाहरुको भविष्यको बारेमा सोच्नुहोस् । वर्तमान अवस्थामा नेपालका राजनीतिक दलहरुको भूमिकाको बारेमा मुल्याङ्कन गर्नुहोस् । तपाईंहरुले अब आउने सबै प्रकारका निर्वाचनलाई पाठ सिकाउनु छ कि मत कब्जा गरेर, मतपत्र च्यातेर, पैसा बाँढेर, शक्ति प्रयोग गरेर, दबाब, प्रभावले चुनाब जितिदैन् भनेर । म लगायत लाखौँ जनताको आशा यही हो ।

गणेश डुम्रे
देवदह रुपन्देही



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।