‘भरतपुरमा न्याय अब जनताले गर्छन, फेरी मतपत्र च्यात्ने दुस्साहस नगर्नु होला’ – कांग्रेस नेतृ मनिता घिमिरेले पत्र लेखेरै रेनुलाई दिईन यस्तो झट्का…

प्रिय रेणु दाहालजी,
बहुत दुखका साथ यो पत्र लेख्दैछु । भरतपुर १९ मा मतपत्र च्यातेकोमा तपाईँले माफी माग्नुहोला भन्ने आशा थियो तर माग्नुभएन । पुन: मतदान हुने भएपछि अवश्य माफी माग्नुहोला भन्ने थियो तैपनि माग्नुभएन ।

तपाईँप्रति मेरो विशेष सहानुभूति छ किनभने तपाईँ महिला हो, युवा हो र केही गरौँ भन्ने जाँगर पनि देखिन्छ। मतपत्र च्यात्नु महागल्ती थियो, अपराध थियो। गल्ती गर्ने तपाईँहरू अनि प्रतिरक्षा गर्नुपर्ने हामी कांग्रेसजनले । कस्तो विडम्बनापूर्ण अवस्थामा फसेका छौँ हामी कांग्रेसजन । हाम्रो दुर्भाग्य र तपाईँको सौभाग्य हो– तपाईँ भरतपुरमा नेपाली काँग्रेसले भोट दिनुपर्ने उम्मेदवार हुनुहुन्छ । हाम्रो पार्टीको तर्फबाट गल्ती भइसकेको छ, अब यसलाई सच्याउन सकिन्न । आफ्नै गल्तीले नेपाली काँग्रेसलाई लागेको घाउमा मतपत्र च्यातेर तपाईँहरूले झन् नुनचुक हाल्नुभयो ।

भरतपुरमा धेरै कांग्रेसजनले तरक्क आँसु चुहाएर तपाईँहरूको चुनाव चिन्हमा छाप लगाएका छन् । यो कुरा तपाईँहरूलाई थाहै छ । काँग्रेसको रुख चुनाव चिन्ह भनेको नेपालको इतिहास हो, नेपालको सबैभन्दा पुरानो र निरन्तरता पाएको चुनाव चिन्ह हो । २०१५ सालमा नेपाली काँग्रेसको चिन्ह यही थियो । यति गौरवशाली चिन्हलाई मत हाल्ने अवसर गुमाएर भरतपुरका कांग्रेसजनले तपाईँको चिन्हमा मत दिए ।

ज्यानमार्ने राजनीति छाडेर भोट माग्ने राजनीतिमा आउनुभयो, हामी यसमा खुसी छौँ तर भोट माग्ने राजनीतिमा पनि मतपत्र च्यातेर ज्यानमारा शैली अपनाउनुभयो । काँग्रेसले समर्थन गरेको उम्मेदवारले यसो गर्नु भनेको काँग्रेसलाई नै पनि चोट पुराउनु हो । नेपाली काँग्रेसको यही भावना बुझेर पनि मतपत्र च्यातेकोमा तपाईँहरूले माफी मागिदिनुहुन्छ भन्ने अझै आशा गर्दछु ।

फैसला अब जनताको हातमा छ, जनताको फैसला अवश्य स्वीकार्नुहोला, भरतपरमा अबको मतगणनामा तपाईँहरूको तर्फबाट कुनै अनिष्ट नगर्नुहोला । तपाईँहरूको कारणले नेपाली काँग्रेसका हामी सबै लज्जित भइसकेका छौँ, थप लज्जित नबनाउनुहोला । लोकतन्त्र भनेको जनताको मत हो र त्यो मतको सम्मान हरेक उम्मेदवारको कर्तव्य र धर्म हो । आगामी दिनमा यो कुरा मनन गर्नुहोला ।

मतदान हुनु अगावै माफी मागेर गल्ती सच्याउन आग्रह गर्दछु ।

धन्यवाद ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।