त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भन्सार खुल्ने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भन्सार कार्यालय स्थापना हुने भएको छ । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जाँचपास भन्सार कार्यालय र सामान जाँचपासको छुट्टाछुट्टै भन्सार कार्यालय हुनेछन् । अहिलेको भन्सार कार्यालयले सामान जाँचपास गर्नेछ ।
अन्तर्राष्ट्रिय विमानस्थलसँगै यात्रु जाँचपास कार्यालय स्थापना हुने भएको छ । विमानस्थल भन्सार कार्यालयबाट सामान जाँचपासमा हुने ढिलाइबारे ब्यापक गुनासो आउने गरेको छ । यात्रु जाँचपास भन्सार कार्यालय समेत खुलेपछि अब यात्रुहरुले अनावश्यक झन्झटबाट मुक्ति पाउन सक्नेछन्, साँघुमा लेखिएको छ ।
विमानस्थल भन्सारबाट अवैध रुपमा सुन र कम्प्युटर पार्टसहरु भित्रने गरेको र भन्सार कार्यालय हातामा दलालहरुको बढी घुसपैठले सामान हराउने जस्ता समस्या पनि बेलाबखतमा हुँदैआएको परिप्रेक्ष्यमा विमानस्थलमा यात्रु जाँचपास भन्सार कार्यालय खुलेपछि यसमा कमी आउने अनुमान गरिएको छ ।
विमानस्थल भन्सारलाई अधिकृतमुखी बनाउन लागेको छ । विमानस्थलका दुवै भन्सार कार्यालयका प्रमुख सहसचिव हुनेछन् । यात्रु जाँचपास भन्सार कार्यालयमा ३ जना प्रमुख भन्सार अधिकृत (उपसचिव) र ३० जना भन्सार अधिकृत रहनेछन् । हालको भन्सार कार्यालय सामान (जाँचपास) मा ३ प्रमुख भन्सार अधिकृत र १२ भन्सार अधिकृतको दरबन्दी राखिएको छ ।


