अचेत अवस्थामा फेला परेका धुलिखेलका वडाअध्यक्षको रहस्यमय मृत्यु
काठमाडौं, १० भदौ । ६ दिन अघि घाइते अवस्थामा भेटिएका धुलिखेल नगरपालिकाका वडा नं २ का वडा अध्यक्ष राजन कोईरालाको शुक्रबार निधन भएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

गत आइतबार साँझ कोईराला सेतिदेवी दुग्ध उत्पादक सहकारी संस्थामा दुध विक्री गरेर घर फर्कदै गर्दा रविओपीको छापको खोल्सा नजिक कोईरालाहरुको कुलदेवता मन्दिर नजिक लडिरहेको अवस्थामा फेला परेका थिए । उनको बायाँ टाउकोमा चोट थियो भने ढाडको हड्डी पनि भाँच्चिएको थियो ।
अचेत अवस्थामा फेला परेका उनको काठमाडौंको नर्भिक अस्पतालको आईसियुमा राखेर उपचार गरिएको थियो । तर, होस नै नखोली उनको मृत्यु भएको छ । एक साता बित्दा पनि घटनाको रहस्य खुलेको छैन । हालसम्म कसैले आक्रमणको प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए ।
कोइरालाको ब्लडप्रेसर कम भएको र यसअघि पनि एकपटक ब्लडप्रेसर लो भएरै लडेकाले यसपटक पनि प्रेसरकै कारण ढलेको हुनसक्ने आशंका गरिएको छ ।


