सुरक्षामा कडाइ गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन

सप्तरी, १ असोज । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि हुने प्रदेश नं २ अन्तर्गत तराई मधेशका आठ जिल्लामा हुन गइरहेको स्थानीय तह निर्वाचनमा शन्तिसुरक्षाको अवस्थालाई थप कडा, सशक्त र प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।

राजविराजस्थित प्रमुख जिल्ला अधिकारीको निवासमा आज साँझ आयोजित जिल्ला शान्तिसुरक्षा बैठकमा मुख्य निर्वाचन कार्यालय र स्थानीय प्रशासनसँगको छलफलमा उहाँले मतदान केन्द्र, मतपेटिका र मतदाताको सुरक्षामा कुनै कमी आउन नदिन सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभयो ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा यादवले कुनै पनि डर, त्रास र धाक–धम्कीले सुरक्षा निकाय पछिपर्न नहुने बताउँदै निर्वाचनको अनुगमन र सुरक्षाको कार्यलाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो ।

सप्तरी जिल्ला सुरक्षाको दृष्टिले अत्यन्त संवेदनशील जिल्लाका रुपमा रहेको बताउँदै उहाँले सुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकाय एकआपसमा समन्वय गरी सुरक्षाको काम गर्नुपर्नेसमेत निर्देशन दिनुभयो ।

नेपाल–भारत सीमाक्षेत्रमा अवैध आवागमन रोक्न र सुरक्षा जाँचको कार्यलाई व्यवस्थित गर्नुपर्ने बताउँदै जिल्लाका सुरक्षा निकायसँग सप्तरीको सुरक्षा अवस्थाबारे जानकारीसमेत लिनुभयो ।

बैठकमा सप्तरीका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिका अध्यक्ष भगिरथ पाण्डेले सप्तरीको सुरक्षा अवस्था राम्रो रहेको र निर्वाचनमा मतदान गर्नका लागि स्थानीयवासी उत्साहित रहेको उल्लेख गर्नुभयो ।

सो बैठकमा सप्तरीका मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइराला, निर्वाचन आयोगबाट अनुगमनमा खट्नुभएका सहसचिवद्वय सञ्जीवराज रेग्मी, छवीन्द्र पराजुली र सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले निर्वाचनको गतिविधिबारे जानकारी गराउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।