‘जुन दसैंले आमाबाबु बाँडिए, दाजुभाइ फाटिए’

कवि तथा गीतकार श्रवण मुकारुङले बिहे गरेको १४ वर्ष पुग्यो, तर अहिलेसम्म बिहेको विधि–विधान पूरा भएको छैन।

मुकारुङ परिवारका लागि यसपालिको दसैं केही विशेष हुनेवाला छ। ५० औं शरद पार गर्नै आँटेका मुकारुङ आफ्नी श्रीमतीलाई यही दसैंमा घर भित्र्याउँदैछन्।

किराँत समुदायमा केटा–केटीको इच्छाले बिहे गरेर मात्र पुग्दैन, घर भित्र्याउन विशेष विधि पूरा गर्नुपर्छ– चाहे चाँडै भित्र्याओस् या बूढाबूढी भएपछि। यसरी बिहेपछि श्रीमती भित्र्याउने चलनलाई ‘सामेली’ भनिन्छ। दैलो पार गर्दै चुल्होमा राखेर विधि पूरा गर्ने भएकाले ‘चुल्होमा राख्ने’ पनि भनिन्छ।

मुकारुङको यसपालिको दसैं सामेली पनि हो। हुर्किसकेका दुई छोरीले आमाबाबुको बिहे हेर्न पाउनेछन्, जुन घर उनीहरूका लागि बिल्कुलै नौलो हुनेछ।

भोजपुरको सदरमुकाम दिङ्लाबाट झन्डै ६/७ घन्टा पैदल दुरीमा पर्छ, श्रवणको गाउँ। बिहे गर्दा उनको गाउँसम्म मोटर बाटो पुगेको थिएन। ‘अर्को वर्ष जाउँला’ भन्दाभन्दै बिहे गरेको ठ्याक्कै एक वर्षमा छोरी जन्मिइन्। काखमा छोरी बोकेर त्यति लामो बाटो हिँड्ने आँट मुकारुङ दम्पतीले जुटाउन सकेनन्।

जेठी जन्मिएको दुई वर्षपछि अर्की छोरी जन्मिइन्। कान्छी छोरी हुर्काउनुपर्यो, जेठीलाई पढाउनुपर्यो। मुकारुङले सोचेका थिए, छोरीहरू हुर्किएपछि स्कुल छुट्टी बेला गाउँ जाउँला।

छोरीहरू हुर्किंदासम्म गाउँमै मोटर बाटो पुग्ला भनेर त उनले सोचेका थिएनन्। सोच्दा नसोच्दै गाउँमा मोटर बाटो पुग्यो। सोच्दा सोच्दै छोरीहरू पनि हुर्किंदै गए। हेर्दा हेर्दै १४ वर्ष बित्यो।

छोरीहरू हुर्किंदै गर्दा सोधेका थिए, ‘घर कहिले जाने बाबा?’

मुकारुङले छोरीहरूलाई दिएका थुप्रै बाचा खेर गए। यसपालि बल्ल पूरा गर्दैछन्। उनले ठाने, मौसम पनि राम्रो भएकाले छोरीहरूलाई पहाड घुमाउने उपयुक्त समय यही हो।

उनी सकेसम्म हरेक वर्ष दसैंमा घर पुग्छन्। बूढी आमा उनलाई कुरिरहेकी हुन्छिन्। उनको अनुमानमा सबैभन्दा खुसी त आमा हुनेछिन्, घरभरी आफ्ना सन्तान हुँदा। त्यसपछि छोरीहरू।

‘आमाले टीका लगाउँदै गर्दा आशीर्वादसँगै के भन्नुहुन्छ भन्ने पनि अनुमान लगाइसकेको छु,’ उनी भन्छन्, ‘पहिले पहिले भन्नुहुन्थ्यो,चाँडै बिहे गरेस्। बिहे गरेपछि भन्न थाल्नुभयो, बुहारी र नातिनीहरूलाई झट्टै घर ल्याएस्।’

आमाले आशीर्वादसँगै थुप्रै वर्ष एउटै गुनासो गरिरहिन्।

यसपालि आमाले आशीर्वाद दिने पनि बढेका छन्। उनको अनुमानमा आमाले विशेषगरी नातिनीहरूलाई भन्नेछिन्, ‘बोजुलाई भेट्न आइरहनू। बाबुआमालाई पनि जान कर गरिरहनू।’

यसरी आशीर्वाद दिनुलाई उनी ठूला र सानाबीचको संवाद मान्छन्। र, दसैंलाई संवादको पर्व।

‘पहिले पहिले बाबु र सन्तानबीच संवाद हुनै मुस्किल पथ्र्यो,’ श्रवण भन्छन्, ‘बाबुले भनेको काम गर्यो। मानेन भने गाली खायो। राम्रोसँग सम्झाईबुझाई गर्ने भन्ने नै हुन्थेन। टीकाको दिन बाबुले आफ्ना सन्तानलाई भविष्यको बाटो तय गर्न अर्ति–उपदेश दिन्छन्। यो पुरानो पुस्ताले नयाँ पुस्तासँग गर्ने संवाद हो।’

जब श्रवण दसैंको स्मृतिमा डुब्छन्, सबैभन्दा पहिले बडा हजुरबा सम्झन्छन्।

उनका हजुरबाका बा परशुराम मुकारुङले राणाबाट ‘राई’ पदवी पाएका थिए। पदवीसँगै भोजपुरको अन्नपूर्ण क्षेत्रको कर उठाउनेदेखि अह्रन–खटनको अधिकार उनको हातमा थियो।

उनका हजुरबा पहिले सेनाको जागिरे छँदा राणाको दरबारमा काम गर्थे। श्रवणले सुनेअनुसार दरबारमा काम गरेकाले राणाको भोगविलासी उनले नजिकबाट देखे। उनलाई पनि राणाहरूजस्तै भोग विलास गर्ने रहर जाग्यो। राणालाई रिझाए र ‘राई’ पदवीको टीका लगाए। गाउँ नै आफ्नो कब्जामा लिने शक्ति हातमा लिएर घर फर्किए।

ती बडा हजुरबा यति विलासी थिए, नौवटी युवतीसँग बिहे गरे। ५२ वटा ढोका भएको घर बनाए। पछि ‘राजालाई चुनौति’ दिएको भन्दै मुद्दा परेपछि उनका बडा हजुरबाले बठ्याइँ गरे, एउटा ढोकालाई माटोले पुरेर ५१ वटा बनाए। र, मुद्दा जिते।

त्यो ठूलो घरको बीचमा फराकिलो खाट थियो। ती बडा हजुरबा खाटको छेउमा तकियाको अढेस लगाएर ट्वार्र … ट्वार्र … हुक्का तान्दै बस्थे। हुक्काको आगो हत्तपत्त निभ्थेन। तमाखु थपिरहन्थे। नौवटी श्रीमतीमध्ये घरमा एउटी न एउटी हुन्थे नै, उनीहरूले आगोको कोइला थपिरहन्थे।

बाल्यकालको दसैंका रमाइला क्षण सम्झँदा श्रवणको दिमागमा महाअष्टमीको झल्को सबैभन्दा छिटो आउँछ।

उनका बडा हजुरबा खाटमा उही तरिकाले हुक्का तान्दै आदेश दिइरहेका हुन्थे। फराकिलो आँगनमा कतै खसी त कतै राँगा मार हान्न ठिक्क पारिन्थ्यो। श्रवण आँगनमा उफ्रिन्थे। राँगा या खसी मार हान्नेले भुइँभरी लछप्पै बगेको रगतमाथि आफ्नो खुट्टा चोबल्थे। केही बेरमै सबैले ती मार हान्ने व्यक्तिलाई जुरुक्क उचालेर पिँढीको भित्तोमा पुर्याउँथे। मार हान्नेको खुट्टा तेर्सो परेको हुन्थ्यो। रगतमा चोबिएका उसका दुई खुट्टाको छाप भित्तामा लाग्थ्यो।

‘मलाई यो दृश्य सम्झिँदा निकै रमाइलो लाग्छ,’ श्रवण सम्झन्छन्, ‘मलाई लाग्थ्यो, खुट्टाको छाप लगाउनु पनि धार्मिक विधि नै रै’छ क्यारे। तर, पछि थाहा भयो, कारण त राजनीतिक पो रै’छ।’

राई पदवी पाएकाले उनका बडा हजुरबाको हातबाट टीका थाप्न किराँत मात्र होइन, टाढा–टाढाबाट बाहुन–क्षत्रीसमेत कोसेली बोकेर आउँथे। बाहुन–क्षत्रीका लागि खसीको मासु पकाइएको हुन्थ्यो। विजया दशमीदेखि कोजाग्रत पूर्णिमासम्म श्रवणका हजुरबा टीका लगाउनमै व्यस्त हुन्थे।

जमिनदार, शक्तिवालाको घरमा जन्मिएकाले श्रवणले उति अभावका दिन त खेप्नुपरेन। तै आमनेपालीझैं दसैं मिठो खाने र राम्रो लगाउनेकै पर्व हुन्थ्यो उनका लागि पनि। बजार टाढा भएकाले समयमै खाने मिठो र लाउने राम्रो सामान आइनपुग्दा टालेका लुगा लगाउनुपथ्र्यो।

जब दसैं आउँथ्यो, श्रवणका हजुरबाले झन्डै एक दर्जन भरियालाई दसैंको सामान लिन बजार पठाउँथे। जब घरबाट भरियाहरूको लर्कन छुट्थ्यो, श्रवण नयाँ लुगा लगाउन पाइने आशमा निकै फुर्फुरिन्थे। साँझपख भरिया बजारबाट आउने बाटो ढुकेर बस्थे। तल कतै हो कि हो कि जस्तो लागे कुदेर जान्थे। जसले लुगाको भारी बोकेको छ, उही भरियाको पछि लाग्थे। उही भरियासँग लुपुक्क टाँसिन्थे।

‘त्यतिबेला हाम्रो घरमा मासु खान दसैं नै कुनुपर्ने भन्ने थिएन,’ श्रवण भन्छन्, ‘बजार नजिक नभएकाले नयाँ लुगा लगाउन भने दसैं नै कुर्नुपथ्र्यो। त्यतिबेला हाम्रो लागि दसैं भनेकै नयाँ लुगा हो।’

एसएलसी सकेर काठमाडौं आएपछि श्रवणका लागि दसैंले फरक अर्थ राख्न थाल्यो। दसैं पहिलेजस्तो खाना र नानाको चाड रहेन। वर्षको एकचोटि घर जाने चाड बन्यो। दसैं आउनै लाग्दा घर जानेहरूबीच ‘कहिले जाने, कतिखेर जाने, कसरी जाने’ जस्ता कल्याङमल्याङ चल्थे। श्रवणलाई यसले पनि एकखाले रमाइलो महसुस गराउँथ्यो। घर पुगेपछि साथीहरूसँगको भेट, पिङ, खानपिन र घुमघामको आनन्द बेग्लै।

काठमाडौं आएको केही वर्षमै श्रवणबाट यी सब आनन्द खोसिँदै गए। एकातिर राजनीतिक रूपमा ‘दसैं जनजातिहरुको चाड होइन’ भन्ने घुस्यो। अर्कातिर, पहिले राई, सुब्बाजस्ता पदवी पाएकाहरूको अधिकार सरकारले आफूतिर सोहोर्यो। धुमधाम दसैं मनाउने उनका बडा हजुरबा पनि आफूले शक्ति गुमाउन थालेपछि आर्थिक र मानसिक रूपमा कमजोर हुँदै गए।

यसमध्ये ठूलो प्रभावचाहिँ जनजाति समुदायमा फैलिएको ‘दसैं हाम्रो चाड होइन’ भन्ने नाराले पार्यो।

यसले एउटै समुदाय त परको कुरा, एउटै परिवारभित्र पनि विभाजन ल्याइदियो। कम्युनिस्ट राजनीतिप्रति आस्था भएकाहरू दसैं नमान्नेतिर लागे, प्रजातान्त्रिक शक्ति भनिने पार्टीमा लागेकाहरू दसैं मान्ने पक्षमा उभिए। उनका बडा हजुरबा दसैं मान्ने पक्षमा लागे। नौवटी श्रीमतीबाट जन्मेका ती हजुरबाका सन्तान नै आधा यता, आधा उता भए। श्रवणका काकाहरू नै विभाजित भए।

अरू त अरू, उनका बाबु दसैं नमान्नेतिर, आमा दसैं मान्नेतिर।

दोस्रो बिहे गरेर छुट्टै बसेका बाबुको त उनलाई उति मतलब थिएन, आमा भने रातै टीका लगाउँथिन्। लगाइदिन्थिन्। श्रवण आमाको हातको टीका लगाएर खुलेआम गाउँ चहार्थे।
‘सकारात्मक कुरा के भने हाम्रो गाउँमा दसैं मान्ने र नमान्नेबीच द्वन्द्वचाहिँ भएन,’ उनले सम्झिए, ‘म रातो टीका लगाएर हिँड्दा कसैले किन दसैं मानिस् भन्थेन। हामी पनि किन दसैं नमानेको भन्थेनौं।’

श्रवणका अनुभवमा वर्षौंदेखि मानिआएको चलन एकैचोटि छोड्न गाह्रो हुन्छ। उनका भनाइमा दसैं नमान्ने भने पनि घरमा राँगो–खसी काट्थे। जाँड–रक्सी पिउँथे। तास खेल्थे। छोरी–चेलीलाई पनि बोलाउँथे। मात्र टीका लगाउँथेनन्। श्रवण भन्छन्, ‘भन्नलाई मात्र दसैं नमान्ने भन्ने, तर चेलिबेटीलाई दक्षिणा दिने चलन कमैले मात्र छाडे। कतिले त लुकेर टीका पनि लगाए।’

अरू बेला मुगलान पसेकादेखि काठमाडौं बसेकासम्म एकैथलोमा भेट हुने पर्वलाई लिएर दाजुभाइ नै विभाजित भएपछि दसैं मान्नुपर्ने पक्षमा रहेका श्रवणलाई निको लाग्ने कुरै भएन।

‘यो दसैंको मौसम नै यस्तै छ, जोकोही नरमाई रहनै सक्दैन,’ श्रवणले सम्झिए, ‘यस्तो राम्रो मौसम अनि भर्खरै खनेको बाटो। त्यसै उज्यालो। पिङ खेल्ने ठाउँमा मेलाजस्तो हुन्थ्यो।’

कवि हृदय न पर्यो!

श्रवण आफू त्यतिबेला उति ‘इमोसनल’ नभएको बताउँछन्। ‘मैले मध्यमार्ग अपनाएँ,’ उनी भन्छन्, ‘दसैं मान्नेको घर जाँदा टीका लगाइदिन्थेँ, नजानेकोमा पुग्दा त्यसैअनुरुप व्यवहार गर्थें।’

विभाजित भए पनि सहरी भेगका तुलनामा गाउँलेहरू दसैंलाई लिएर निकै संयमित भएको श्रवण सम्झन्छन्। त्यतिबेला धरानतिर आफ्नै दाजुभाइबीच दसैं मान्ने र नमान्ने विषयमा विवाद भएर काटामार नै भएको उनले सुनेका थिए।

‘त्यस्तोबेला संयमित हुनु नै बुद्धिमानी हुन्छ। म मात्र होइन, हाम्रो गाउँमा कसैले एकअर्कालाई गाली गरेन,’ उनले भने।

यता श्रवणको घरको दसैंमा बडा हजुरबाको हातबाट शक्ति खोसिएसँगै रौनकता हराउन थालिसकेको थियो। उनको समुदायमा ‘दसैं राजनीति’ घुसेपछि पहिले उनको घरमा टीका लगाउन आउने बाहुन–क्षेत्री समुदायका पनि आउन छाडे। फराकिलो आँगनको चारैतिर मार हान्ने, मार हान्नेलाई जुरुक्क उचालेर भित्तामा छाप हान्नेजस्ता दृश्य सम्झनामा मात्र खुम्चिए।

अर्कातिर, दाजुभाइ नै विभाजित थिए।

मानिआएको चलन चटक्कै छाड्न कहाँ सजिलो हुन्छ र? सुरुका वर्ष दसैं नमान्ने केही अर्को वर्षदेखि नै पुरानै चलनमा फर्किए। केही वर्षपछि ‘रातो टीका हामी जनजातिको होइन’ भन्ने लहर चल्यो। कतिले रातो टीका कायम राखे, कतिले सेतो टीका लगाउन थाले। दसैं नमान्नेले समेत सेतो टीका लगाएर फेरि मान्न थाले।

पहिचान आन्दोलन पक्षधरहरूका भनाइमा जनजातिमाथि तत्कालीन राज्यसत्ताले हिन्दुहरूको दसैं मान्न जबरजस्ती पारेको, बलि दिइएको प्रमाणका रूपमा भित्तामा रगतको छाप हान्न लगाएको बताउँदै आएका छन्। रातो टीका पनि जनजातिको मौलिक चलनभित्र नपर्ने उनीहरूको कथन छ।

श्रवण भने यसमा सहमत छैनन्। उनी जमरा र टीका नेपालीको मौलिक चलन भएको बताउँछन्।

‘म यसको ज्ञाता होइन, तर के अनुमान लगाउन सक्छु भने त्यतिबेला रङको चलन नै थिएन,’ श्रवण भन्छन्, ‘चामलको टीका र अन्न उमारेर बनाउने जमरा खासमा जनजातिहरूकै चलन हो। हिन्दुहरूको हुन्थ्यो भने भारतमा पनि हुन्थ्यो। यो नेपालबाहेक अन्त कतै छजस्तो मलाई लाग्दैन। म मान्दछु, तत्कालीन राज्यसत्ताले आफ्नो धर्म सबैमाथि लाद्यो। तर, उसले जनजातिको अस्तित्व पनि त स्वीकारेको छ नि। हामीले के बुझ्नुपर्छ भने हरेक संस्कृति विजेता या शक्तिमा भएकाहरूबाटै सुरु हुन्छ। नेपालका अधिकांश संस्कृति हेर्दा शक्तिमा भएकाले फरक समुदायमाथि आफ्नो पूरै कुरा जबरजस्ती लादेको छैन। उसको अस्तित्व पनि स्वीकारेको छ। दसैं यस्तो चाड हो, जहाँ फरक–फरक समुदायका मौलिकता पाइन्छन्।’

उनी दसैंलाई हिन्दुको मात्र नभई नेपालीको साझा र मौलिक चाड भन्न रुचाउँछन्। यसलाई धार्मिक हिसाबले भन्दा सामूहिकता, आपसी सम्बन्ध, सद्भावको संस्कृतिका रूपमा मनाउनुपर्ने उनको भनाइ छ।

‘संस्कृति भनेकै फरक रहनसहन, बोली–व्यवहार, मनोविज्ञान भएकालाई जोड्ने हो,’ उनी भन्छन्, ‘हामीसँग मान्छेले बनाएको के नै छ र? त्यही संस्कृति त हो। न हामी अमेरिकाजस्तो धाक लगाउन सक्छौं, न हामीसँग अणुबम छ! तर, हामीसँग मूल्यवान संस्कृति त छ नि। अब यो चाड यसको, यो चाड उसको भनेर विभाजित हुने नै बेला हैन। एकले अर्को समुदायको संस्कृति हाम्रो पनि हो भनेर स्वीकार गर्न थालिसके। जस्तो, किराँत समुदायको मुख्य चाड साकेलामा मभन्दा बाहुन–क्षत्री राम्रो नाच्छन्।’

दसैंको टीकाबारे उनको धारणा के छ त?

‘यो इच्छाको कुरा पनि भयो। तर, रातो टीका हाम्रो होइन भनेर सेतो टीका लगाउनेलाई मेरो के सुझाव छ भने जीवन रंगीन छ, रातो टीका लगाउँदा केही बिग्रँदैन। आफ्नै नहोला, तर अरूको स्वीकार्दा केही हुँदैन,’ उनले भने।

पहिले जुन कुराले दसैंको महत्व बनाउँथ्यो, अहिले ती सबै सर्वसुलभ भइसकेका छन्। श्रवणको अनुभवमा मासु र लुगाफाटो सर्वसुलभ भए पनि दसैंको महत्व घट्दैन।

‘दसैं राष्ट्रिय चाड भइसक्यो,’ उनी भन्छन्, ‘दसैं मनमुटाव हटाउने, संवाद गर्ने पर्व भएकाले यसको महत्व झनै बढ्दै जान्छ। अरू बेला बाझेका छिमेकी पनि यो बेला आफ्नो गल्ती स्वीकार्छन् र मिल्छन्।’

कतिका लागि दसैं घर जाने पर्व भएको छ। श्रवणका श्रीमती र छोरीहरूले पनि दसैंमै घर जाने मौका पाए।

श्रवण चाहन्छन्, ‘सशस्त्र युद्धमा बेपत्ता भएकाहरु दसैंमै घर आइपुगून्।’

– समुन्द्र राज घिमिरे / सेतोपाटी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।