अब नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने छ : योगेश भट्टराई

माओबादी लाइ एमालेमा मिलाउने अन्तिम लक्ष

काठमाडौं, असोज १६ । नेकपा एमालेका सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा माओवादीसँग चुनाबी तालमेलका लागि शीर्ष तहमा गम्भीर छलफल भइरहेको बताएका छन ।

एभरेस्ट दैनिकका अनुसार नेता भट्टराईले प्रदेश र केन्द्रको निर्वाचनमा माओवादीसंग तालमेल गरेर जाने पार्टीले निर्णय गरेको छ । ‘तत्कालका लागि सबै वामपन्थी पार्टीसँग चुनावी तालमेल गर्ने हाम्रो तयारी छ । दीर्घकालमा नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने हाम्रो मिसन हो,’ उनले भने ।

तालमेलको आधार के हो भन्ने प्रश्नमा नेता भट्टराईले भने, वामपन्थी शक्तिलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभामा धेरै स्थानमा विजयी गराउने मुख्य आधार राखेर माओवादीसँग छलफल भैरहेको उनको भनाइ थियो । नेपालमा एउटा शक्तिशाली एकीकृत कम्युनिष्ट पार्टी बनाउने उद्देश्य राखेर सबै बाम शक्तिबीच तालमेलको निर्णय गरेको उनको जिकिर थियो ।

माओवादी नेता वर्षामान पुन ‘अनन्त’ले आइतबार रोल्पामा एमालेसँग चुनाबी तालमेल र पार्टी एकताका बारेमा राखेको विचारलाई नेता भट्टराईले समयको माग अनुसारको उचित बताए ।

पार्टी एकताको बिषयमा एमाले र माओवादीबीच छलफल चलेको सन्दर्भमा नेता भट्टराइले सैद्धान्तिकरूपमा माओवादी र एमाले दुबैले नेपालमा एउटा मात्र कम्यूनिष्ट पार्टी निर्माण गर्ने मान्यतामा रहेकोले त्यो सम्भव भएको बताए ।

‘नेकपा एमालेको महाधिवेशनले अब नेपालमा एउटा मात्रै कम्युनिष्ट पार्टी बनाउनुपर्छ भनि पारित गरेको छ,’ एमाले सचिव भट्टराईले भने, ‘नेकपा माओवादीले पनि त्यस्तै निर्णय गरिसकेको छ । त्यसैले अब हाम्रो मिसन भनेका सबै कम्युनिष्ट पार्टी मिलाएर शक्तिशाली एकीकृत कम्युनिष्ट पार्टी बनाउने हो ।’

अहिलेको समयको माग देशमा दुईवटा विचार मात्रै भएको पार्टीको आवश्यकता रहेको उनको भनाइ थियो । ‘अहिलेको समयको माग ध्रुविकरणको हो, एउटा कम्युनिष्ट र अर्को पूजीवादी ।’ उनले भने, ‘त्यसैका लागि हाम्रो प्रयास भनेको पहिला आगामी चुनाबमा वामपन्थी पार्टीसँग तालमेल गरेर बढी वामपन्थी शक्तिलाई निर्वाचनमा जिताउने र त्यसपछि पार्टी एकताका लागि प्रक्रिया अगाडि बढाउने हुनेछ ।’

यसअघि आइतबार नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले एमालेसँग पार्टी एकता हुन सक्ने बताएका थिए ।

पछिल्लो डेढ वर्षयता एमाले र माओवादीबीच माथीदेखि तलसम्म कटुता बढ़ेको सन्दर्भमा तालमेल र एकताको बहसले नयाँ चासो उत्पन्न गरेको छ । माओवादीभित्र अहिले कांग्रेससँगको गठबन्धनलाई निरन्तरता दिनुपर्ने बलियो मत देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।