प्रचण्ड पुत्र प्रकाश दाहाल भन्छन्ः बिना मगरलाई कान्छी बनाउनु मेरो गल्ती, तर…
काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाशले आफ्नी कान्छी श्रीमती बिना मगरलाई संघीय प्रतिनिसभामा कञ्चनपुर–१ बट उम्मेदवार बनाएको विरोधमा उत्रिएका पार्टीभित्र तथा बाहिरका व्यक्तिहरुप्रति रोष प्रकट गरेका छन् ।

प्रकाशले बिना आफ्नी श्रीमती र प्रचण्डकी बुहारीका कारणले मात्र उम्मेदवार नबनेको भन्दै उनको राजनीतिमा बीसौं वर्षको योगदानको कदर गर्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले बिनालाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्नु सरासर गलत भएको उल्ल्ेख गरेका छन् । बिना ०५४ सालदेखि पार्टीमा सक्रिय रहेको र २७ महिनासम्म नेपाली सेनाले ब्यारेकमा बेपत्ता पारेको भन्दै बचाउ गरेका छन् । ‘जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्ने प्रयत्न गरिन्छ, त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४/०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो ? के स्वविय’ सभापति प्रचण्डको परिवार भएको हुँदा बनाइएको थियो ?’, प्रकाशले श्रीमतीको बचाउ गर्दै भनेका छन् ।
बिना मगर आफैंमा स्थापित नेतृ भएको दाबी गर्दै हाल पार्टीभित्रैका कतिपय उम्मेदवार बिना राजनीतिमा लाग्ने बेलामा १÷२ कक्षामा पढ्दै गरेको टिप्पणी गरेका छन् । बिनाको इतिहास आफ्नो परिवारसँग जोडिनुभन्दा २ दशक पहिलादेखि कायम रहेको भन्दै प्रकाशले त्यसलाई नजरअन्दाज नगर्न भनेका छन् । प्रकाशले बरु प्रचण्ड परिवारको सदस्य भएका कारण बिनालाई घाटा लागेको जिकिर गरेका छन् । ‘प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनीतिक जीवन प्रचण्ड जोडिँदा र प्रचण्ड परिवार जोडिँदा उनलाई घाटा भएको छ । उनको इतिहासको नजरअन्दाज गरिएको छ । परिवारपरिवार भनेर सबैलाई एउटै आँखाबाट नहेरौं’ प्रकाशले भनेका छन् ।
यस्तै प्रकाशले छोरा र बुहारी दुवैलाई प्रत्यक्ष र समानुपाकित सांसदको उम्मेदवार बनाएको भन्दै विरोध नगर्न आग्रह गरेका छन् । प्रकाशले आफूले ११ कक्षा पास गरेपछि ०५७ सालबाट पार्टीमा काम गर्दै आएको र हालसम्म कुनै पदका लागि प्रतिस्पर्धामा नरहेको दाबी गरेका छन् । उनले अहिलेसम्म परिवार र व्यक्तिगत स्वार्थ केही नखोजेको जिकिर गरे । यद्यपि बिना मगरसँग बहुविवाह गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । आफूले त्यस कमजोरी बापत पार्टी विधानअनुसार कारबाही भोगिसकेको तर्क गरेका छन् । ‘हो बीचमा मेरो केही प्राविधिक कमजोरी भयो र पार्टी विधानअनुसार कारबाही ब्यहोरें । अन्यथा केही छैन’, उनले भनेका छन् । काठमांडू टुडे ।


