प्रचण्डले भनेको टेरेको भए बाँच्न सक्थे प्रकाश !

काठमाण्डौं, ५ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड झापामा हुने बाम गठबन्धनको सभालाई सम्बोधन गर्न शनिबार विर्तामोड पुगे । पछिल्लो केही वर्षयता उनका पुत्र प्रकाशले प्रचण्डलाई छाडेका थिएनन् ।

बाबु सहभागी हुने राजधानी होस् या बाहिरका हरेक सार्वजनिक कार्यक्रमको सामाजिक सञ्जालमा ‘लाइभ’ प्रसारण गर्थे प्रकाश । जसबाट सञ्चारकर्मीलाई प्रचण्डको नियमित गतिविधिको समाचार संकलन सहज भएको थियो । माओवादी र गैरमाओवादी समेत प्रकाशको फेसबुकबाट प्रचण्डका भाषण सुन्थे । तर, शनिबार प्रकाश बाबुका साथ जान सकेनन् । उनलाई केही दिनयता ज्वरो आएको थियो । ‘मलाई ज्वरो आएको छ, तपाईंसँग झापा जान सक्दिन’, प्रकशले प्रचण्डलाई भनेका थिए, ‘तपाईं जानुस् म चितवनको कार्यक्रममा (पाँच गते) आउँछु ।’ बिरामी छोरालाई प्रचण्डले जान कर गरेनन् ।

निजी सचिवालयका केही र सुरक्षा गार्डका साथ विर्तामोड पुगे । शनिबार साँझ प्रचण्डले पत्नी सीतालाई टेलिफोन गरेर छोराको अवस्थाबारे जानकारी लिएका थिए । उनले अझै सञ्चो नभएको भए अस्पताल लैजान भनेका थिए । सीताले बुबाको फोन आएको र अस्पताल जान भनेकाले तयार हुन भनिन् । तर, प्रकाशले मानेनन् । ‘धेरै गाह्रो भएको छैन, रुघाखोकी हो । भोलिसम्म निको भएन भने जाऔंला’, प्रकाशको भनाइ उद्धृत गर्दै प्रचण्डका कान्छा ज्वाईं जिवन आचार्यले भने ।

प्रचण्ड समवेदना दिन आउने गरेका शुभेच्छुकसँग बिरामी हुँदा अस्पताल समेत लैजना नसकिएको भन्दै दुःख मनाउ गरिरहेका छन् । ‘बिरामी थियो, अस्पतालसमेत लान सकिएन’, सोमबार समवेदना दिन लाजिम्पाट निवास पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई प्रचण्डले भने ।

पुत्र बियोगको पीडाबाट बिस्तारै सम्हालिन कोसिस गरिरहेको बताएका प्रचण्डले समयमै अस्पताल लैजान पाएको भए प्रकाशको निधन हुने थिएन कि भन्ने विषयले बेलाबेलामा मन भाँडिने गरेको उल्लेख गरे । ‘हुन त एक हप्ता अगाडि मात्र नर्भिक अस्पतालमा ‘होल बडी चेकअप’ गराएको थियो, रिपोर्टमा केही देखिएको थिएन’, उनले भन्ने गरेका छन्, ‘समयमै अस्पताल लान पाएको भए यस्तो हुने थिएन कि भन्ने लाग्छ ।’ – काठमाण्डु टुडेबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖