छिन्ताङ्गको समग्र बिकासमा लागिपर्ने : थापा
धनकुटा खबर । उद्योग मन्त्री सुनीलबहादुर थापाले हिलेदेखि छिन्ताङ त्रिवेणीसम्मको मोटर बाटो पिच गर्न पहल गर्ने बताउनु भएको छ ।
आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा पतिनिधि सभा उम्मेदवार समेत रहनु भएका मन्त्री थापाले धनकुटाको छिन्ताङमा आयोजना गरिएको चुनावी सभामा बोल्दै छिन्ताङसम्मको बाटोको अवस्था दयनीय रहेकाले जसरी पनि पिच गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनु भयो ।

मन्त्री थापाले छिन्ताङमा रहेको खानेपानीको समस्या चाडै समाधन गर्ने बताउनु भयो । उहाँले खाल्सा छिन्ताङको विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित हासिल गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री थापाले छिन्ताङ हत्या काण्डमा मारिएकाहरुलाई आफु मन्त्री हुँदा नै सहिद घोषणा गर्ने बताउनु भयो । उहाँले वाम शक्तिका नेताहरु पटकपटक सरकारमा बस्दा पनि सहिद घोषणा गर्न नसकेकाले आफुले जसरी पनि राष्ट्रिय सहिद घोषणा गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले समग्र खाल्सा छिन्ताङको विकास र देशलाई समुन्नत बनाउन लोकतान्त्रिक गठबन्धनको जित अनिवार्य रहेको पनि बताउनु भयो ।
सो चुनावी सभाका लोकतान्त्रिक गठबन्धनका प्रदेश नं. १ का उम्मेदवार मनोहर नारायण श्रेष्ठले आफु पनि सहिदको छोरा भएकाले छिन्ताङको विकासका लागि आफु सदैव क्रियाशील रहने बताउनु भयो ।
त्यसैगरी प्रदेश नं. २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्जुन थापाले जिल्लाको विकास र स्थायी शान्तिका लागि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेकाले अमुल्य मत दिएर विजयी गराउन आग्रह गर्नु भयो ।
नेपाली कांग्रेस छिन्ताङका सभापति लक्ष्मण राईको सभापतित्वमा भएको सो चुनावी सभामा समानुपातिक उम्मेदवार कमोड फागो, नोपली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, संघीय समाजवादी फोरमकी पार्वती राई लगायतले सहिद भुमीको विकास वाम गठबन्धनले गर्न नसक्ने भएकाले लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने बताउनु भयो ।


