यात्रुलाई ओरालेर सप्तरीमा प्रदर्शनकारीले लगाए बसमा अागो
राजविराजः सप्तरीको मलेठ–२ स्थित राजविराज–रुपनी सडकखण्डमा एउटा बसमा आगजनी भएको छ। वीरगञ्जबाट राजविराजतर्फ आउँदै गरेको ना ५ ख ६७१३ नम्बरको स्वस्तिका बसका यात्रुहरुलाई ओरालेर तोडफोड गर्नुका साथै पेट्रोल खन्याएर आगजनी गरिएको हो।
बिहीवार विहान सोही बाटोमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारी चढेको बा ७ च ७४७९ नम्बरको जिपमा तोडफोड गरेर आगजनीको प्रयास भएको थियो। सप्तरीको बसविट्टी गाविस–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गत सोमबार भएको घटनामा गोली लागेर मृत्यु भएका चार जनामध्ये तीनजना मलेठ गाविसका हुन्। मलेठ बसविट्टीसँग जोडिएको गाउँ हो।
मोर्चा सप्तरीले मंगलबारदेखि नै अनिश्चितकालिन बन्दको घोषणा गरेको छ। मोर्चाका कार्यकर्ताहरुले ठाउँ–ठाउँमा टायर बालेर विरोध प्रदर्शन गरिरहेकाले सप्तरीको अवस्था अहिले पनि तनावग्रस्त छ।



