सुतिरहेको शिशुलाई ट्रकले कुल्चँदा मृत्यु, चालकलाई कुटपिटपछि भक्तपुरमा तनाव
भक्तपुर, चैत ३ । नगरकोट नगरपालिका–३ ताथली आलुबारीमा विहीबार (आज) बा१ख ४७९९ को मिनिट्रकले सुतिरहेको शिशुलाई कुल्चिएपछि उनको मृत्यु भएको छ ।
महानगरीय प्रहरी वृत्त जगातेका प्रहरी निरीक्षक प्रकाश विष्टले घटनामा १५ महिनाको सुरेश तामाङको मृत्यु भएको जानकारी दिए ।
भक्तपुरको लक्ष्मी इँटाभट्टामा काम गर्दै आएका काभ्रे, महादेवटार–३ का लक्ष्मण तामाङका १५ महिनाको छोराको मृत्यु भएको हो ।
मिनीट्रकले बालकलाई कुल्चिएर ज्यान गएलगत्तै भट्टामा कार्यरत् मजदुरले गाडी तोडफोड गरी चालक भक्तपुर नगरपालिका–२ जेंलाका जयराम गाइजुलाई कुटपिट गरेका छन् ।
कुटपिटपछि प्रहरी र मजदुरबीच झडप हुँदा इँटाभट्टा क्षेत्र निकैबेर तनावग्रस्त बनेको थियो ।


