यसकारण गरियो सुनसरीमा सेना परिचालन !
दोस्रो चरणको स्थानिय निर्वाचन सफल बनाउन सुनसरीमा नेपाली सेना परिचालन गरिएको छ। भारतसँग सीमाना जोडिएको सुनसरीका सीमावर्ती क्षेत्र, लिम्बुवान र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी प्रभावित क्षेत्र धरानमा अपराधिक क्रियाकलाप नियन्त्रण गरी निर्वाचनको वातावरण बनाउन सेना परिचालन गरिएको नेपालएक्सप्रेसमा खबर छ ।
सरकारले दोस्रो चरणको स्थानीय निर्वाचनमा समेत सेना परिचालन गर्ने सहमति लिएपछी जिल्ला सुरक्षा समितिको बैठकले आवश्यक क्षेत्रमा सेनाको गुल्म स्थापना गर्ने निर्णय गरेसंगै सुनसरीमा सेना परिचालन गरिएको हो। पहिलो चरणमा सुनसरीको धरान, इटहरी, दुहबी र देवानगन्जमा नेपाली सेनाको गुल्म स्थापना गरिएको छ।पूर्वी पृतना हेड क्वाटर इटहरीमा रहेको बटुकदल गणवाट सुनसरीको धरान उपमहानगरपालिका स्थित फुस्रे, देवानगन्ज गाउँपालीकाको कप्तानगन्ज, दुहबी नगरपालिको नेपाल विद्युत प्राधिकरणको सव स्टेशन र इनरुवा नगरपालीकाको खानेपानी कार्यालयमा सेनाको गुल्म स्थापना गरिएको छ।
इनरुवा र दुहबीमा यस अगाडि नै सेनाको गुल्म रहेको भएपनी निर्वाचन सुरक्षा योजना अन्र्तगत थप जनशक्ति पठाएर सुरक्षालाई थप प्रभावकारी बनाइको बटुकदल गण इटहरीका प्रमुख सेनानी सुलभ खड्काले बताए।
सेनाको चारवटै गुल्ममा बुधबारदेखि एक सय १० जनाको टोली परिचालन गरिएको छ। कप्तानगन्जमा सेनानी इन्द्र मगर, धरानमा सहसेनानी राजकुमार श्रेष्ठ, इनरुवामा सहसेनानी आमोद कार्की र दुहबीमा सहसेनानी गोविन्द श्रेष्ठको नेतृत्वमा सेना परिचालन गरिएको हो।
भारतसँग सीमा जोडिएको सुनसरीमा तराईका विभिन्न भूमिगत समूह, सिके राउतले समर्थित कार्यकर्ता, लिम्बुवान र विप्लव माओवादी लगायतका निर्वाचन नचाहाने शक्तिले चुनाव विरोधी गतिविधि गर्न थालेपछी सुनसरीका अतिसंवेदनशील क्षेत्रमा नेपाली सेनाको गुल्प स्थापना गरिएको बुझिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुनसरीका विभिन्न अति संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए। उनले दोस्रो चरणको स्थानीय निकायको निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाको आवश्यकता महशुस गरी नेपाली सेनाको गुल्म स्थापना गरिएको जानकारी दिए।
सुनसरीका अन्य तीन स्थानमा समेत सेनाको गुल्म स्थापना गर्ने तयारी भैरहेको प्रजिअ पराजुलीले बताए। सुनसरीको पश्चिम कुसाहा, हरिनगरा र छिटाहामा समेत सेनाको गुल्म स्थापना गरी निर्वाचनको वातावरण बनाउन लागिएको उउको भनाई छ। स्थापना गर्न लागिएको स्थानमा बटुकदल गणबाट सेनाको टोलीले स्थलगत निरीक्षण समेत गरी सकेको बताइको छ।सुनसरीमा सेना परिचालन गरिएपछी बिहीबार मतदान स्थल, मतदान केन्द्र, मानव बस्ती र सडकमा सेनाले गस्ती सुरु गरेको छ।
चौथवटा स्थानीय निकाय कायम गरिएको सुनसरीमा भारतसंग सीमाना जोडिएका कोसी, भोक्राहा, लौकही, देवानगन्ज, हरिनगरा गाउपालीका तथा धरान र इटहरी उपमहानगरपालीकामा निर्वाचन नचाहाने शक्तिले निर्वाचन विरोधि गतिविधि गर्न सक्ने भन्दै सुनसरीका चारवटै सुरक्षा निकायलाई चौविसै घण्टा चनाखो भएर बस्न निर्देशन दिइएकोछ।


