वायुसेवा निगमको बोइङ थन्कियो, कोहि किन्न आएन, निगम अन्योलमा

काठमाडौं, १२ जेठ । नेपाल वायुसेवा निगमको जहाज बी ७५७–२०० विक्रीको लागि डेढ महिनाअघि गरिएको टेण्डर असफल बनेको छ । टेन्डरको म्याद बुधबार सकियो तर एउटा पनि आवेदन परेन । कुनै पनि आबेदन नपरेपछि अब के गर्ने भन्ने बारेमा निगम अन्योलमा परेको छ ।

१९८७ मा खरिद गरिएको यो बिमानको खर्च बढ्दै गएपछि निगमले यो जहाज बेच्न लागेको हो । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले भने, ‘मर्मत खर्च बढ्दै गयो, लागत अनुसारको नाफा हुन सकेन, त्यसैले बेच्न लागेका हौ ।’

२०७२ सालको चैतदेखि यो बिमान ग्राउण्डेड भएर बसेको छ । धेरै खर्चिलो भएपछि यो बिमान नचलाई राख्ने र बेच्ने निर्णय गरिएको थियो ।

निगमका अनुसार बि ७५७–२०० बिमान नेपालमा ९ एन एसियमा दर्ता भएको छ । यो बिमानले अहिलेसम्म ८६ हजार ४ सय १० घन्टा उडान भरेको छ । यो बिमान सन् १९८७ को सेप्टेम्बरमा निर्माण भएको हो ।

निगमले बिमान खरिद गर्न चाहनेका लागि न्युनतम रकम भने तोकिदिएको छ । सहायक प्रवक्ता कंसाकारका अनुसार खरिद गर्न चाहनेले १.७१ मिलियन अमेरीकी डलर अर्थात १७ लाख रुपैयाँभन्दा माथिको प्रस्ताव हाल्नु पर्छ । निगमले सबैभन्दा बढी रकम दिने कम्पनीलाई यो बिमान बेच्नेछ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्ससँग अहिले जहाज थोरै छन् । दुईवटा बोइङमध्ये एउटा लिलामी गरेर बेच्न लागिएको छ भने अर्को मर्मतको लागि सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा पठाउन लागिएको छ । यसको हेभि मेन्टेनेन्ट्स गर्न लागिएको छ ।

सन् २०१५ को सुरुवातसम्म नेपाल एयरलाइन्ससँग दुईवटा बोइङ थिए । सोही वर्षको फेब्रुअरी र अप्रिलमा दुईवटा ए ३२० एयरबस थप गरेपछि नेपाल एयरलाइन्ससँग ४ वटा विमान भए । तर, केही समयपछि बि ७५७–२०० बोइङ भने लिलामका लागि राखियो ।

अहिले निगमले दुईवटा वाइडबडी एयरबस पनि खरिद गर्न लागेको छ । जुन सन् २०१८ को मे सम्ममा ल्याउने निगमको तयारी छ । सन् २०१५ मा थपेका एयरबसका कारण अहिले निगमको बजार हिस्सा बढ्दै गएको छ । त्रिभुवन विमानस्थलका अनुसार २०१५ को तुलनामा सन् २०१६ मा यसको उडानमा ब्यापक सुधार आएको छ ।

तर अहिले यो साखलाई निरन्तरता दिनको लागि भने निगमलाई निकै कठिन भएको छ । बोइङ मर्मतमा जान लागेपछि निगमले नयाँ जहाज भाडामा लिन खोजेको छ । तर पाएको छैन । जसका कारण उडानहरु नै प्रभावित हुने देखिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।