इमान्दारीपूर्वक चुनाव लड्नु आफैँमा जित : बिजुक्छे
भक्तपुर, १३ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लडेर सैद्धान्तिक मत पाउनु आफैँमा निर्वाचनमा जित हासिल गर्नुसरह भएको बताउनुभएको छ ।
अध्यक्ष बिजुक्छेले झूटो आश्वासन बाँडेर वा पैसा, जागिर, लोभलालच देखाएर चुनाव जित्नुभन्दा कम मत आएपनि इमान्दारीपूर्वक र नैतिकरुपमा चुनाव लड्नु पनि नैतिक विजय भएको बताउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समन्वय समितिले आज आयोजना गरेको कार्यकर्ता भेला तथा धन्यवाद कार्यक्रममा अध्यक्ष बिजुक्छेले कम मत आएपनि नेमकिपा कार्यकर्ताले निराश हुनु आवश्यक नभएको बताउँदै हारेको सिपाही झन् राम्रोसित लड्छ भन्ने उखान चरितार्थ गर्दै कार्यकर्तालाई सचेत र सङ्गठित हुँदै जनतामाझ जान आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो – “पैसा, लोभलालचमा बिकेर भोट बेच्ने गलत संस्कार र बानीले भोलि देश नै गुम्ने खतरा छ । जनतालाई सचेत र सङ्गठित पार्ने काम निरन्तर आवश्यक छ ।”
उत्पादन श्रमसँग जोडिएको शिक्षाको निम्ति ख्वप विश्वविद्यालय अगाडि बढाइएको जानकारी दिँदै उहाँले भक्तपुर जिल्ला शिक्षाको मात्र नभई स्वास्थ्यको पनि नमुना जिल्लाका रूपमा अगाडि बढिरहेकाले यस अभियानमा कार्यकर्ता तथा जनताले निरन्तर साथ र सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले नेमकिपाले जित्यो भने समाजवादी विचारले जरा गाड्छ भन्ने डरले जे–जसरी भएपनि चुनाव जित्ने अभियानका साथ अन्य पार्टीहरू चुनावी मैदानमा उत्रेको आरोप लगाउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समन्वय समितिका संयोजक सूर्यभक्त त्वातीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सहसंयोजक रामेश्वर बोहरा, महेन्द्र बखुन्छें र नेक्राम सङ्घ, सूर्यविनायक नगर समितिका अध्यक्ष मनशोभा त्वातीलगायतले निर्वाचनको समीक्षा गर्नुभएको थियो । रासस


