काठमाडौंबाट धरानतर्फ जाँदै गरेको माइक्रो दुर्घटनामा दुईको मृत्यु, चालक फरार
सप्तरी, १२ असार । सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा ट्रक र माइक्रो एक आपसमा ठक्कर खाँदा दुई महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
काठमाण्डुबाट धरानतर्फ जाँदै गरेको बा ३ ख ८६६८ नम्बरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेकोे बा २ ख २७४१ नम्बरको ट्रक आज बिहान एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी माइक्रोमा सवार मोरङ्ग लेटाङ्ग बस्ने ५० वर्षीया जलता सरी राई र सुनसरी इनरुवाकी ४५ वर्षीया मन्जु काफ्लेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका सबैको सप्तऋषि अस्पताल लहानमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् माइक्रो चालक फरार रहेकाले खोजतलास भइरहेको छ भने ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय कडोरवानाले नियन्त्रणमा लिएको छ ।


