भरतपुरमा मत च्यातिएको मुद्दाको सुनुवाइ असार २७ गते
काठमाडौं, १३ असार । चितवनको भरतपुर महानगरपालिका–१९को मत च्यातिएको मुद्दाको सुनुवाइ दुई हप्तापछि यही असार २७ गते हुने भएको छ । एक साताअघि क्रममा सर्वाेच्च अदालतले च्यातिएको मतपत्रसहित सोसँग सम्बन्धित सबै कागज ७ दिनभित्र उपलब्ध गराउन आदेश दिएको थियो । सोही बमोजित आज सर्वाेच्चमा च्यातिएको मतपत्रसहित सबै कागज बुझाएपछि यस मुद्दाको सुनुवाइ असार २७ गते हुने भएको हो ।
मेयरका दुई प्रत्यासी रेणु दाहाल र देवी ज्ञवालीसहितकाका दलीय प्रतिनिधिको रोहवरमा शिलबन्दी गरिएको मत्रपत्र प्रहरी र निर्वाचन कार्यालयका कर्मचारीले मंगलबार अदालतमा बुझाएका हुन् । मतपत्र च्यातिएपछि पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले च्यातिएका मतपत्रको पोको मगाएको थियो ।
कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चले सात दिनभित्र च्यातिएका मतपत्रहरू जे जस्तो अवस्थामा छन्, त्यसलाई अदालतमा पठाउन भनेको थियो । त्यसैगरी निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णयको सक्कल प्रति र मतपत्र च्यात्नेविरुद्ध सरकारी वकिलले दायर गरेको मुद्दाको मिसिलको सक्कल प्रति पनि पठाउन आदेश दिएको थियो ।
निर्वाचन आयोगले गत जेठ २० गते भरतपुरमा मतगणनास्थल कब्जा भएको भन्दै वडा नम्बर १९मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएपछि सुरु भएको भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णयउपर सर्वोच्चमा रिट दर्ता भएको थियो ।
आयोगको निर्णयविरुद्ध एमालेका भरतपुर १९ का वडा सदस्यका उम्मेदवारसमेत रहेका गुन्जमान विकले सर्वोच्चमा जेठ २१ गते रिट दायर गरेका थिए । जेठ २२ गते सर्वोच्चको एकल इजलासले पुनः मतदानको निर्णय ६ दिनका लागि रोकेको थियो ।
आयोगले २० गतेको निर्णयमा चितवनका प्रमुख निर्वाचन अधिकृतलाई मतदानको स्थान र समयसहित निर्वाचन तालिका सार्वजनिक गर्न मेत निर्देशन दिएको थियो । सर्वोच्चको त्यही निर्देशनका कारण आयोगको निर्णय कार्यान्वयन हुुन सकेको छैन । त्यसयता हेर्न नभ्याइने भन्दै सर्वोच्चले दुई पटकसम्म पेसी सारेको थियो ।


