सन्दर्भ ६६ औं मदन जयन्ती : माओवादी द्विविधा – माओवाद कि बहुदलीय जनवाद ?

नेपालको बाम आन्दोलन विभिन्न भङ्गालाहरुबाट अगाडि बढिरहेको छ । नेपालमा थुप्रै कम्युनिष्ट पार्टी अस्तित्वमा रहे पनि मुख्य रुपमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) ले नेपाली जनतामा आफ्नो ठूलो प्रभाव राख्दै आएका छन् । एमालेको प्रभाव र हैसियत दिनानुदिन बढिरहेको छ भने माओवादी केन्द्रको प्रभाव दिनानुदिन खस्किरहेको छ । माओवादीहरुको निरन्तर अधोगति हुनुमा केही कारणहरु जिम्मेवार छन् ।

क) विधान, पद्धति र तर्क होईन, मूढेबल
माओवादी तर्कमा विश्वास गर्दैनन् । उनीहरुले सशस्त्र विद्रोह गर्दैगर्दा हतियार बोकेका कार्यकर्ताले जे भन्यो त्यही जनताले मान्नु पथ्र्यो, त्यहाँ जनताको तर्कसंगत र तथ्यसंगत आग्रह, अनुनय विनयको केही जोर चल्दैनथ्यो । उनीहरुको आदेश नमान्नेहरुको ज्यान खतरामा परिहाल्थ्यो । बन्दुक बोकेकाहरु नेता हुन्थे,अरु उनका आदेश पालक । शान्ति प्रक्रियामा आएको एक दशक वितिसक्दा पनि माओवादीको पार्टी संगठन त्यही बन्दुके संस्कृति हावी छ । जनताको मत पाउन सक्ने, समाजमा हैसियत भएका तर बन्दुक बोक्न नभ्याएका नेताहरु समाजमा कुनै हसियत नभएका, विद्रोहमा लाग्नु अघि समेत समाजमा नकारात्मक हैसियत बनाएका तर बन्दुक सुम्सुम्याउन भ्याएका व्यक्तिहरुको खटन पटनमा बस्नु पर्ने बाध्यकारी व्यवस्था कायम छ माओवादीमा । बन्दुक समाएका वा सुम्सुम्याएका जति क्रान्तिकारी, अरु “खान” माओवादीमा लागेका अवसरवादी ! नेताको अत्यन्त विश्वासपात्रहरुको घेराभित्र गरिएको निर्णय सुनाईन्छ र बलपूर्वक पास गराईन्छ । माओवादी पार्टीभित्र ( बाबुरामको तथाकथित नयाँ शक्तिमा समेत ) नेताको आदेश पार्टीको सिद्धान्त, विधान, नियमावली सबैभन्दा माथि राखिन्छ । पार्टीभित्र र बाहिर प्रशस्त लोकतान्त्रिक प्रक्रिया पार गर्नु पर्ने संसदीय व्यवस्थामा आदेशको भरमा चल्ने पार्टीको अधोगति बाहेक के हुन सक्छ र ?

ख) माओवादीलाई माओवाद घाँडो
माओले चीनमा गरेकोजस्तो युद्ध लडेर सत्ता कब्जा गर्न माओवाद बोकेर हिडेको सो समूह चुनाव लडेर सरकार बनाउने संसदीय व्यवस्थामा आइपुगेको छ । तर माओवादीलाई पार्टी संसदीय व्यवस्थामा सामेल भए पछि विगत विद्रोह कालमा पार्टीले लिएको सैद्धान्तिक अवधारणा र सांगठानिक संरचनामा परिवर्तन गर्नु पर्ने, माओवाद त्याग्नु पर्ने माग कार्यकर्ताबाट उठे पनि “हाम्रो लक्ष्य सत्ता कब्जा नै हो , माओवाद छोड्न सकिदैन ।” भन्ने जवाफ सुनाउछन् माओवादी नेताहरु । माओवादी अहिले पनि कब्जाकै मानसिकतामा छन् । भरतपुर महानगरपालिकाको मत गणनाको क्रममा माओवादी कार्यकर्ताको मतपत्र च्यात्ने कार्य उनीहरुको कब्जा मानसिकताकै उपज हो । “माओवादीहरु विशेष धातुले बनेका मानिस हुन्” भन्दै जनतामा भाषण गर्दै हिडे पनि तिनै “विशेष धातुले बनेका मानिस”लाई जनताले धमाधम पराजित गरिरहेका छन् । यसले देखाउँछ— माओवादीहरु यथावसर नचले आफ्नो अधोगति रोक्न सक्दैनन् । र,एकैपटक संसदीय चुनाव लड्न र माओवादी बनिरहन संभव छैन । यही विरोधाभासले उनीहरुको कद निरन्तर घटाईरहेको छ । उनीहरुको अर्को समस्या के छ भने आफूलाई उनीहरु संसारकै सबभन्दा जान्ने मानिस ठान्दछन् । र, आफ्नो सर्बनाक हारलाई समेत “महान विजय”को रुपमा व्याख्या गर्छन् । “माओवाद छोड्यो भने त एमालेजस्तो भईहालियो नि !” भन्नेहरु नेपाली कांग्रेससंग घाँटी जोड्नचाहिँ पछि पर्दैनन् । जनताको बहुदलीय जनवादसंग दुश्मनी गरेर अब कतै पुगिदैन भन्ने हेक्का उनीहरुमा छैन ।

ग) माओवादीहरुको यदुवंशी चरित्र
यदुवंशी कुनै बेला असाध्य मात्तिएका थिए । उनीहरुलाई आफूले जे गरे पनि ठीक हुन्छ भन्ने लाग्दथ्यो । एक हुल यदुवंशीले एकपटक एक पुरुषलाई गर्भिणीको भेषमा रिसाहा ऋषि दुर्वासाको सामुन्ने लगेर सोधे—“ऋषिवर यी गर्भिणी महिलाबाट छोरा वा छोरी के जन्मन्छ ?” ऋषिले आफूलाई जिस्क्याएर तङ् गर्न खोजेको थाहा पाएर भने —“यी महिलाबाट तिमीहरुको वंश नाश गर्ने जन्मन्छ । ” यदुवंशी आत्तिएर तत्कालै त्यो गर्भिणी भेषधारी पुरुषको लुगा खोल्दा एक मुसल निस्क्यो । त्यो मुसललाई उनीहरुले धुलो बनाएर कुनै मरुस्थलमा गाडिदिए । त्यो मरुस्थल समयक्रममा घाँसे मैदानमा विकसित भयो । यदुवंशीहरुको बनभोज सोही धाँसे मैदानको आसपास आयोजना गरियो । बनभोज खाएर मदमत्त यदुवंशीहरु झगडा गर्न थाले । झगडा यसरी भड्कियो कि सबै सोही धाँसको पासो लागेर मरे , मारिए । नेपालका माओवादीहरुको ठीक त्यही हाल भएको छ । प्रचण्ड कांग्रसी पासोमा जेलिइसकेका छन् । बाबुराम उछिट्टिएर उपेन्द्रको पासोमा उनिएका छन् । किरण आफ्नै उग्र क्रान्तिकारिताको पासोमा फसेका छन् । विप्लव आफैंलाई सिध्याउने जङ्गली राजनीतिको तानावाना बुन्दैछन् । सार्वभौमिक कम्युनिष्ट सिद्धान्तलाई नक्कली भेषमा प्रस्तुत गर्दा यो स्थिति उत्पन्न भएको हो भन्दा अत्युक्ति नहोला ।

घ) नेता कार्यकर्ताको विचल्ली
“सत्ता कब्जा भएपछि सबैको व्यवस्था हुन्छ” भनेर माओवादीले आफ्ना नेता, कार्यकर्तालाई विगतमा बन्दुक थमाएको थियो । युद्धमा होमिएपछि आफ्नो जीवनवृत्तिका लागि छुट्टै केही गर्ने प्रश्न नै भएन । बन्दुकको भरमा आफ्ना कार्यकर्तामार्फत् उठाएको रकम शक्तिशाली नेताहरुले आफ्नो निजी प्रयोजनको लागि चलन ह्वात्तै बढेको क्रान्तिका लागि हिंडेका कार्यकर्तालाई थाहा हुने कुरा पनि भएन । बन्दुक विसाएपछि सोझा नेता कार्यकर्ता घाइते अपाङ्ग बनेर रित्तो हात धर फर्कंदा धेरैको घरको समेत विल्लीबाठ भएको थियो । अझै त्यस्ता कयौं कार्यकर्ता शक्ति र श्रोतले सम्पन्न नेताको धरमा पुगेर विगत कोट्याउदै रुवाबासी गर्छन् र सय पचास लिएर फर्कन्छन् । माओवादीभित्र नेता कार्यकर्ताको सम्बन्ध दास मालिकका सम्बन्धभन्दा माथि उठ्न सकेको छैन ।

ङ) उपसंहार
नेतृत्व पङ्तिमा जे जे भए पनि माओवादीभित्र अझै राजनीतिलाई जनसेवा र बलिदानको रुपमा लिएर अगाडि बढ्न चाहने थुप्रै नेता कार्यकर्ता छन् । तिनीहरुलाई “बरु कांग्रेससंग मिलेर जान सकिन्छ, एमाले त बर्ग दुश्मन हो ” भन्ने नकारात्मक स्कुलिङ्ग गरिदैछ । स्पष्ट बहुमत लिएर समाजवादी यात्राको तयारी गरिरहेको देशको सबैभन्दा ठूलो र बहुदलीय जनवादी चरित्रले खारिएको कम्युनिष्ट पार्टी नेकपा(एमाले) ले फराकिलो हृदयले ती सबै छरिएर रहेका बाम राजनीतिककर्मीहरुलाई समेट्न सक्नुपर्छ ।

निर्मल भट्टराई
(नेता, एमाले)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।