सुत्केरी बेथाले थलिएकी २९ वर्षीया लामाको हेलिकप्टरबाट उद्धार, शिशुको मृत्यु

गोरखा । सुत्केरी बेथाले थलिएकी उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– ६ चुम्चेत गो गाउँकी २९ वर्षीया पासाङ भुटी लामा ‘छोर्तेन’ को आज दिउँसो हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि राजधानी लगिएको छ ।

शुक्रबारदेखि सुत्केरी बेथा लागेपनि परिवारको आर्थिक अवस्था नाजुक हुँदा हेलिकप्टर चार्टर गर्न सकिएको थिएन । जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख केदारराज पराजुली र चुम्चेत घर भई काठमाडौँमा रहेका धावा ग्याल्जेन लामाको पहलमा हेलिकप्टरमार्फत लामाको उद्धार गरिएको हो ।

लामालाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौँमा उपचार गरिएको छ । धावाले भन्नुभयो, “आमाको सफल शल्यक्रिया गरियो । अहिले अवस्था राम्रो छ । तर शिशु (छोरी) बचाउन सकिएन ।” सुत्केरी बेथाले च्यापेको २४ घन्टासम्म शिशु नजन्मिएपछि हेलिकप्टरको खोजी गरिएको थियो ।

चुम्चेतमा स्वास्थ्य सेवा गतिलो छैन । सदरमुकामको अस्पताल आउन चार दिन पैदल हिँड्नुपर्छ । चुम्चेतमा सडक पहुँच पुगेको छैन । उत्तरी भेगका गाउँमा हरेक वर्ष समयमै उपचार नपाउँदा सुत्केरीको ज्यान जाने गरेको छ । हेलिकप्टर चार्टर गर्न कम्तीमा रु दुई लाख लाग्छ ।

जिल्ला जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले हेलिकप्टरको भाडा कार्यालयका तर्फबाट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।