‘वैदेशिक रोजगारमा जाने नेपालीको सुरक्षामा ध्यान देऊ’
काठमाडौँ, १८ असार । पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वैदेशिक रोजगारीका लागि विभिन्न खाडी देशमा जाने लाखौँ नेपालीको सुरक्षा र हितमा काम गर्न नेपालका वैदेशिक रोजगार व्यावसायीलाई आग्रह गर्नुभएको छ ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले देशका समग्र व्यवसायीले वैदेशिक रोजगारीमा रहेका ठूलो सङ्ख्याका नेपालीको हित र सुरक्षामा आफ्नो व्यवसायको पनि हित ठान्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री डा महतले भन्नुभयो, “नेपालमा अझै समृद्धि र स्थायित्व नभएकाले रोजगारीका लागि विदेशमा जानु उनीहरुको बाध्यता हो, त्यसैले व्यवसायीले उनीहरुको सेवामा नै आफ्नो व्यावसायिकता खोज्नुपर्छ ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका डा महतले नेपालमा प्रजातन्त्रको विकाससँगै विभिन्न पेसा, वर्ग र व्यवसायको हित प्रवद्र्धनका लागि व्यवसायी सङ्गठित हुने क्रममा वैदेशिक रोजगार व्यवसायी पनि एकीकृत भई यस्ता संस्था गठन भएको भन्दै प्रजातान्त्रिक तवरबाटै नागरिकलाई सेवा दिन र सिन्डिकेटजस्ता कामबाट कसैलाई पनि दुःख नदिन आग्रह गर्नुभयो ।
लाखौँलाख नेपालीले वैदेशिक रोजगारीमा गई कमाएको विप्रेषणबाट यो देशको अर्थतन्त्र चलेकाले उनीहरुको सेवासुविधा र सुरक्षामा नेपाल सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिदैं उहाँले आपूm परराष्ट्रमन्त्री हुँदा खाडीमा काम गर्ने नेपालीको राहदानी दस्तुर घटाउनुका साथै कतिपय खाडी देशमा आफू नै पुगेर नेपाली कामदारको सुविधा र सुरक्षाका लागि त्यहाँको सरकारसँग आवाज उठाएको बताउनुभयो ।
नेपाली काँग्रेस आबद्ध व्यवसायीको यो संस्थाले आगामी कार्यकालमा के–कस्ता हकहितका कार्यक्रम अघि सार्ने भन्नेबारेमा व्यवसायीसँग नै अन्तक्र्रियाका लागि यो भेला राखेको थियो ।
यही असारको अन्तिम साता आयोजना हुने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २५औँ अधिवेशनमा प्रजातान्त्रिकतर्फबाट विमल ढकालको समूहले यसअघि नै उम्मेदवारी दिएको घोषणा गरेको छ ।
सो भेलामा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार फोरमका अध्यक्ष प्रज्ञान न्यौपाने, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकाल लगायतले आगामी अधिवेशनमा उक्त फोरमका एजेन्डाका बारेमा छलफल गर्नुभएको थियो । रासस


