‘सामाजिक सञ्जालले अतिरञ्जित बनाएको नेपाली राजनीति गणतन्त्र नेपाल – जिन्दावाद ।’
हाम्रो जस्तो अस्थिर राजनीति भएको देश अनि त्यसैमा स्थानीय तह निर्वाचनको माहोल । सामाजिक सञ्जालका भित्ताहरु खुबै रंगिएका छन यतिबेला । राम्रो कुरालाई राम्रो भन्न नसक्ने हामी लोकतन्त्र प्रेमीहरुको स्तर यति खस्किसकेको छ कि हामी सामाजिक सञ्जाललाई कसैको आलोचना गर्न या रैथाने भाषामा भन्नु पर्दा कसैलाई सिध्याउन कै लागी प्रयोग गरिरहेका छौ । प्रिय पाठक मैलै जोड्न खोजेको प्रसंग यसै साता सामाजिक सञ्जालमा भाईरल बनाउन प्रयास गरिएका दुई ओटा विषयमा केन्द्रीत छन । पहिलो प्रसंग प्रधानमन्त्री शेरबहादुर देउवा संग गरिएको साझा सवालको बहस अनि दोश्रो प्रंसग एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रिको टेलिफोन रेकर्ड संग जोडेर छ्यापछ्याप्ति पारिएको ट्रोल तथा आलोचनाहरु ।

पहिलो प्रंसगमा मेरो पहिलो भनाई त कहाँनिर फरक छ भने देशको एउटा कार्यकारी प्रमुखले दाताको विवरण भन्न या सार्वजनिक गर्न नमिल्ने साझा सवाल जस्तो कार्यक्रमका लागी समय उपलब्ध गराउनु हुदैन थियो, यस्मा प्रधानमन्त्रीको सचिवालयको गम्भिर त्रुटी देखिन्छ यद्यपि प्रधानमन्त्रीको सचिवालयले नै पूर्णता भने पाईसकेको छैन । खैर प्रधानमन्त्रीले साझा सवाललाई फेस गरे ।
एक जना युवा मित्रले गम्भिर प्रश्न उठाए, सिंगापुर र बेलायत संग नेपाललाई जोडेर गरिएको उनको प्रश्न नै जायज थिएन भन्ने मेरो मत हा,े किन भने प्रश्न गर्दा ति युवकमा विदेशको मोह र कृत्रिम सौन्दर्यता संगको आत्मरतीमा रमाउने चाहाना रहेछ भन्ने प्रष्ट बुझ्न सकिन्छ किनभने ती मित्रलाई विश्वका समृद्धिका उदाहरण त धेरै थाहा रहेछन तर आफ्नै देशको सामरिक महत्वबारे उनले अज्ञानता प्रदर्शन गरे । पत्रकार प्रेम बानियाँलाई अमेरिकि सरकारले असाधारण क्षमताको आधारमा दिएको प्रवेशाज्ञालाई पलायनको संज्ञा दिदाँ नेपालमा बस्ने हामीहरु भित्रको राष्ट्रवाद कस्तो रहेछ भन्ने गतिलो उदाहरण यो भन्दा अरु के हुन सक्छ र ? अब प्रधानमन्त्रीको जवाफको कुरा गरौं ।
प्रधानमन्त्रीले सहि भने नेपालमा कहाँबाट ल्याउने अक्सफोर्ड ? शैक्षिक गुणस्तरकै कुरा गर्ने हो भने हामी सबैको ईच्छाशक्तिले त्रिभुवन विश्व विद्यालयलाई नै हामी विश्वको उत्कृष्ट विश्व विद्यालय बनाउन सक्दैनौ र ?लोकतन्त्र र गणतन्त्रको बडो दुहाई दिने हाम्रा लागी सबैकुरा प्रधानमन्त्रीले पु¥याईदिनु पर्ने अनि हाम्रा नागरिक जिम्वेवारीहरु चाँही केही पनि हुदैनन् । अनि प्रधानमन्त्री रिसाए भनेर ठुलै फण्डा निकालियो , त्यो पनि गलत छ किनकि आवेग र संवेग विणाको मानव प्राणीको परिकल्पना गर्नै सकिदैन अनि लोकतन्त्रमा कार्यकारी प्रमुखलाई जस्तो पनि प्रश्न गर्न पाउने अनि जवाफ चाँही प्रश्नकर्ताकै अपेक्षा अनुरुप आउनु पर्ने भन्ने हुन्छ र ।
प्रिय पाठक अब दोश्रो प्रसंगमा प्रवेश गरौं । निर्वाचनका बेला भएको विवादको एउटा टेलीफोन रेकर्डलाई लिएर एमाले नेतृ रामकुमारी झाँक्रिको आलोचना अहिले सामाजिक सञ्जालमा व्याप्त छ । टेलीफोन संवादलाई सुन्ने हो भने नेतृ झाँक्रिले आफ्ना विरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेख्नेलाई भोजबहादुर सरको घरमा बोलाएर छलफल गर्न खोजेको जस्तो देखिन्छ, किनकि टेबल टक गरेर कुनै पनि समस्याको समाधान गर्न सकिन्छ भने त्यो सबै भन्दा राम्रो उपाय हो । यहाँहरुलाई जानकारी गराँउ प्रिय पाठक, झाँक्रिले नाम लिएका भोजबहादुर सर गुल्मी काँग्रेशका सक्रिय कार्यकर्ता र नेतृ झाँक्रिलाई विद्यालय शिक्षा दिएका पूर्व शिक्षक पनि हुन ।
टेलिफोन संवादलाई ध्यान दिएर बुझ्ने हो भने नेपाली काँग्रेसलाई नै समर्थन गर्ने भोजबहादुर सरकै घरमा काँग्रेश कार्यकर्ता बमबहादुर कुँवर (यद्यपि उनी शिक्षक पनि हुन) लाई बोलाएर सम्झाउन खोजे जस्तो देखिन्छ तर टेलिफोन रिसिभ गर्ने कुँवर सुनियोजत रुपले झाँक्रिको राजनीतिक भविष्य सिध्याउन सकिन्छ कि भनेर नाटकिय ढंगले प्रस्तुत भएको आभास गर्न सकिन्छ । झाँक्रिले प्रयोग गरेको शब्दलाई अश्लिल भनेर पनि प्रचार गरियो । तर बुझक्कड नागरिकहरुका लागी तेरीमा गधा भन्ने शब्द अश्लिल होईन । नेतृ झाँक्रिको शब्दलाई आक्रोशको एउटा रुप मात्रै नलिई अश्लिल भन्नेहरुलाई मेरो एउटा प्रश्न छ सार्वजनिक यातायात या स्थलहरुमा महिला दीदीबहीनीहरुलाई बस्ने वातावरण नै नहुने गरि अश्लिल शब्द प्रयोग गर्ने यहि समाज होईन ?
तसर्थ प्रिय पाठक हामीले सामाजिक सञ्जालको प्रयोग समेत राजनीतिको दोषि चश्माबाट हेर्न थाल्यौ, लोकतन्त्रको अनुभुती गर्न हामी यहींनिर चुकिरहेका छौं । हामीले के बुझन जरुरी छ भने लोकतन्त्रले दिएको अधिकार अभिव्यक्ति स्वतन्त्रता मात्र होईन, लोकतन्त्रमा नागरिक शैली अनि जिम्वेवारी पनि महत्वपूर्ण हुन्छ । आज हामी जुन वाक स्वतन्त्रता सहितको लोकतन्त्रको दुहाई दिदै बोलिरहेका छौ नि हो यहि वाक स्वतन्त्रता हामीलाई दिलाउनका लागी शेरबहादुर देउवाले आफ्नो जिब्रो गुमाउनु परेको थियो, अनि नागरिक अधिकार सहितको यहि गणतन्त्र हामीलाई दिलाउनका लागी रामकुमारी झाँक्रिले आफ्नो टाउको फुट्दा समेत रत्नपार्कमा नारा लगाईरहेकी थिईन, गणतन्त्र नेपाल – जिन्दावाद ।
त्यसैले दलगत राजनीतिको चश्मा फुकालौं र सामाजिक सञ्जालमा संयमित बनौ, पार्टीकारिता होईन व्यावसायिक पत्रकारिता गरौं, हामी अनुशाषित भए देश आँफै बदलिन्छ, पहिले आफ्नो मैलो पखालौ । मेरो भनाईको मतलब नेपालको राजनीतिक नेतृत्व पुरै निर्दोष छ भन्ने हुदै होईन, प्रश्न हामी कति दोषि छौं भन्ने नै हो । देउवा र झाँक्रिको आलोचना गर्ने तपाई हामीले किन स्थानीय तहको निर्वाचनमा एमालेलाई, काँग्रेसलाई जितायौं त प्रश्न हाम्रै चरित्रमा केन्द्रीत छ, अहिलेको राजनीतिक नेतृत्वप्रति हाम्रो वितृष्णा नै हो भने खोई त रञ्जु दर्शनाहरुलाई हामिले चुनाव जिताउन सकेको ? व्यवस्था परिवर्तन गर्न सजिलो छ तर आँफुलाई परिवर्तन गरौं । नागरिक जिम्वेवारी सिकौं, सामाजिक सञ्जाललाई राजनीतिले अतिरञ्जित नबनाऔं ।


