च्यातिएका मतपत्रको पोको अझै खुलेन, के आउँदो सोमबारसम्म भरतपुर प्रकरणको अन्तिम निर्णय आउला त ?

काठमाडौँ, असार २४ गते । भरतपुर महानगरको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादको छिनोफानो सर्वोच्च अदालतले शुक्रबार पनि गर्न सकेन । अदालतको आदेशानुसार च्यातिएका मतपत्रसहितका सम्पूर्ण मिसिल असार १३ गते इजलासमा पेस भए पनि विवादको छिनोफानो भने लम्बिएको छ ।

च्यातिएको मतपत्रको पोको शुक्रबार पनि सर्वोच्चको इजलासमा खुल्न नसकेपछि कम्तीमा पनि आउँदो सोमबारसम्म भरतपुर प्रकरणको अन्तिम निर्णय आउने छैन । शुक्रबार मुद्दाको सुनुवाइको पेसी न्यायाधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त इजलासमा तोकिए पनि सुनुवाइको पालो आएन । पालो नआएपछि मुद्दा हेर्न नभ्याइने सूचीमा पर्यो । सर्वोच्च प्रशासनले मुद्दाको पेसी आउँदो सोमबारका लागि तोकेको छ ।

जेठ १४ गते मध्यरातमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थगित गरेको थियो । निर्वाचन आयोगले उक्त प्रकरणको स्थलगत छानबिनपछि वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो । निर्णयविरुद्ध वडा नम्बर १९ मा एमालेका तर्फबाट उम्मेदवार समेत रहेका गुन्जमान विकले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । यसअघि सर्वोच्चको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र असार १३ गते अदालतमा पेस गरिएको छ । वडा नम्बर १९ मा ९० मतपत्र च्यातिएको निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयको ठहर छ ।

सर्वोच्चको आदेशअनुसार प्रमाणका रूपमा च्यातिएका मतपत्र पेस भएका हुन् । मतपत्रसँगै मुख्य निर्वाचन अधिकृतले मतगणना स्थगन गर्न गरेको निर्णय, भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको सक्कल, घटनापछि प्रहरीको सञ्चारको प्रतिलिपि पनि पेस भएको छ । असार ६ गते कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको संयुक्त इजलासले मतपत्र च्यात्नेविरुद्ध जिल्ला अदालत चितवनमा चलाएको मुद्दाको मिसिल पनि पेस गर्न आदेश दिएको थियो । आदेश अनुसारको मिसिल पनि सर्वोच्चमा पेस भइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।