गाउँमा स्वास्थ्य चौकी बनाऊन एकै जनाले गरे ६० लाखको जमिन दान !
रौतहट, ३० असार । गाउँमा स्वास्थ्य चौकी भवन निर्माणका लागि एकजनाले ६० लाख बराबरको जमिन निशुल्क उपलब्ध गराएका छन्।
रौतहटको गरुडा नगरपालिका ३ मा भवनको अभावमा वडा कार्यालयमा संचालन हुँदै आएको स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय विलासीराम सहनीले ६० लाख बराबरको आठ कठा जग्गा गरुडा नगरपाकिाको नाममा पास गरेका हुन् ।

घरपरिवारका सम्पूर्ण सदस्यको उपस्थितिमा मालपोत कार्यालय गरुडामा सहनीले बाटोलाई एक कठा र स्वास्थ्य चौकी भवन निर्माणका लागि सात कठा जग्गाको रजिस्ट्रेशन पास गरेको गरुडा नगरपालिकाका कार्यकारी अधिकृत दीपेश झाले बताए।
दुई वर्षदेखि भवन निर्माणको लागि जग्गाको खोजी भइरहेको तर जग्गा नपाएर भवन निर्माण हुन नसकिरहेको अवस्थामा सहनीले स्वास्थ्य चौकीको लागि पर्याप्त जमिन उपलब्ध गराएको उपस्वास्थ्य चौकीका प्रमुख कैलाश राय यादवले बताएका छन् । सरकारको सहयोगमा आधुनिक स्वास्थ्य चौकी भवन निर्माण हुने विश्वास यादवले व्यक्त गरेका छन् । सहनीले स्वास्थ्य चौकीको लागि उपलब्ध गराएको जमिनको मूल्य प्रचलित मूल्यमा ६० लाख रुपैयाँ पर्ने यादवको दाबी छ।
गाउँमा स्वास्थ्य चौकीको लागि निशुल्क जमिन उपलब्ध गराउने सहनीलाई गरुडा नगरपालिका र उपस्वास्थ्य चौकीको तर्फबाट सम्मानसमेत गरिएको छ ।जग्गादाता सहनीले समाजसेवाको लागि आफूले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफूले निस्वार्थ किसिमले समाजको सेवा गरेको बताएका छन् ।


