एक महिनादेखि तातेको दार्जिलिङ झनै अशान्त, केन्द्र सरकार मौन, ५ हजार विद्यार्थीले दार्जि्लिङ छाडे
काठमाडौं, ३१ असार । गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ । पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो । अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो । ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ । कान्तिपुरमा खबर छ ।

सहरभरि हतियारधारी सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । हडतालका कारण सिंगो दार्जि्लिङको जनजीवन प्रत्यक्ष प्रभावित छ । ान्दोलनकारी अझै हडताल फिर्ता लिने पक्षमा छैनन् । ‘आन्दोलन गन्तव्यमा नपुगेसम्म हडताल जारी राख्ने पक्षमा छन् जनता,’ आन्दोलन अघि बढाउन बनेको सर्वदलीय संयन्त्र गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीका संयोजक कल्याण देवानले भने, ‘जनताले फिर्ता नलिएसम्म हडताल जारी रहनेछ ।’ पछिल्लो समय आन्दोलन हिंसात्मक पनि बन्यो । प्रहरी दमनमा ७ आन्दोलनकारीले ज्यान गुमाइसकेका छन् ।
आन्दोलनकारीले सरकारी सवारी, सरकारी भवन तोडफोड र आगजनी जारी राखेका छन् । आन्दोलन चर्किएपछि बंगाल सरकारले दार्जि्लिङमा अघोषित नाकाबन्दी गरेको छ । खाद्यान्न, पेट्रोलियम, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुमा प्रशासनले प्रत्यक्ष रूपमै बन्देज गरेको छ । ‘बंगालले पूर्ण रूपमा नाकाबन्दी गरेको छ,’ हिमालय दर्पण दैनिकका दार्जि्लिङ ब्युरो प्रमुख विमल राईले भने, ‘दार्जि्लिङमा खाद्यान्न संकट सुरु भइसकेको छ ।’ आन्दोलनका कारण यहाँको पर्यटन, चियाजस्ता व्यवसाय धराशायी बनेका छन् । यातायात, स्कुल, व्यापाररव्यवसाय सम्पूर्ण ठप्प छन् ।
यस पटकको आन्दोलन जनस्तरबाटै उठेको छ । ‘विगतमा राजनीतिक दलहरूको निर्देशनमा परिचालित हुने जनताले यस पटक दलहरूलाई परिचालन गरिरहेका छन्,’ दार्जि्लिङका कवि राजा पुनियानीको टिप्पणी छ, ‘यस पटकको आन्दोलनको धरातल अलि बलियो छ, त्यसैले आन्दोलन उपलब्धिमूलक बन्ने आशा छ ।’
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले बंगाल सरकारबाट भएको दमनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट छानबिन गर्न माग गरेका छन् । ‘बंगाल सरकारले योजनाबद्ध ढंगले आन्दोलन दबाउने षड्यन्त्र गरेको छ,’ गुरुङले भने, ‘सम्पूर्ण घटनाको सीबीआईले छानबिन गरोस् ।’ सुरक्षाकर्मीले आन्दोलनकारी माथि धरपकड तीव्र पारेको छ । सर्वसाधारणका घरमा छापा मार्ने र कुटपिट गर्नेक्रम रोकिएको छ । सुरक्षाकर्मीको ज्यादती रोक्न सिलिगुडीको एक मानव अधिकारवादी संगठनले आह्वान पनि गरेको छ । तर, सरकारले चासो दिएको छैन । तीन साताभन्दा बढी समयदेखि इन्टरनेट सेवा अवरुद्ध छ ।
आन्दोलनकारीले बिहीबार हिमालयन रेलवेको खरसाङस्थित पुरानो स्टेसनमा आगजनी गरे । टिस्टास्थित वन विभाग कार्यालय, चौरस्ताको पर्यटन सूचना केन्द्र, पञ्चायत कार्यालय र प्रहरी पोस्टहरूमा आगो लगाए । ‘आन्दोलन सुरु भएयता धेरै भौतिक क्षति भइसक्यो,’ मोर्चाका सहसचिव विनय तामाङले भने, ‘यसको लेखाजोखै छैन ।’ उनले क्षतिको जिम्मेवारी बंगाल सरकार र मुख्यमन्त्री ममता बेनर्जीले लिनुपर्ने बताए ।
यसैबीच, शनिबार थाल्ने भनिएको आमरण अनशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । आसन्न राष्ट्रपति चुनावका कारण अनशन स्थगन गर्नुपरेको गोर्खाल्यान्ड मुभमेन्ट कोअर्डिनेसन कमिटीले जनाएको छ । दार्जि्लिङका साहित्यकार, संगीतकर्मी तथा शिक्षासेवीले बंगाल सरकारबाट पाएको पुरस्कार फिर्ता गर्न थालेका छन् । बिहीबार भानु जयन्तीका अवसरमा संगीतकार कर्म योञ्जन, शिक्षाविद् प्रभात प्रधान र साहित्यकार कृष्णचन्द्रसिंह प्रधानले पुरस्कार फिर्ता गरे ।
केन्द्र सरकार मौन
गोर्खाल्यान्ड आन्दोलनका कारण दार्जि्लिङमा हिंसा बढ्दै गए पनि केन्द्र सरकारले कुनै चासो नदेखाएको यहाँका प्रबुद्ध वर्गले गुनासो गरेका छन् । राज्य सरकारले आह्वान गरेको बैठक भने आन्दोलनकारीले पटक–पटक बहिष्कार गरेका थिए । तीन दिनअघि ममता बेनर्जी आफैंले पनि वार्तामा आउन आह्वान गरिन् । तर, आन्दोलनकारी नेताहरूले ‘केन्द्र सरकारसँग मात्रै’ वार्ता गर्ने बताए । भारतीय गोर्खा परिसंघका पूर्वअध्यक्ष सीके श्रेष्ठले यति लामो आन्दोलन हुँदा पनि केन्द्र सरकार बेखबर बन्नु दुस्खद रहेको बताए । श्रेष्ठले भने, ‘आन्दोलन थप हिंसात्मक बन्ने सम्भावना देखिँदै छ । केन्द्र सरकारले खोजखबरसम्म नगर्नु विडम्बना हो ।’ गोर्खाल्यान्ड आन्दोलनप्रति केन्द्र सरकार विगतदेखि नै अनुदार हुने गरेको थियो । भारतीय जनता पार्टी नेतृत्वको सरकार पनि अनुदार हुँदा भने दार्जि्लिङका नेपालीभाषी भारतीय मर्माहत बनेका छन् ।
भाजपाका नेता तथा दार्जि्लिङका सांसद एसएस आहलुवालियाले समेत गोर्खाल्यान्ड आन्दोलनप्रति आफ्नो पार्टीको ध्यानाकर्षण नगराएको भन्दै नेताहरूले आक्रोश पोखेका छन् ।
५ हजार विद्यार्थीले छाडे दार्जि्लिङ
दार्जि्लिङमा जारी गोर्खाल्यान्ड आन्दोलनको प्रत्यक्ष प्रभाव त्यहाँको शैक्षिक क्षेत्रमा परेको छ । अनिश्चितकालीन बन्द भएयता १० दिनमा करिब ५ हजार विद्यार्थीले दार्जि्लिङ छाडिसकेका छन् । आन्दोलनका कारण दार्जि्लिङको शैक्षिक क्षेत्र, चिया व्यापार र समग्र पर्यटन क्षेत्र अस्तव्यस्त बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बन्दरहडताल र हिंसात्मक आन्दोलनका कारण देशविदेशका विद्यार्थीले दार्जि्लिङ छाड्ने क्रम जारी छ । आन्दोलन सुरु भएपछि यहाँ अध्ययनरत भारतसहित भुटान, नेपाल र थाइल्यान्डका विद्यार्थी घर फर्किन थालेका छन् । दार्जि्लिङको सेन्ट जोसेफ, कालिम्पोङको कुमुदिनी होम्सलगायत खरसाङ र मिरिक क्षेत्रका विभिन्न स्कुल र कलेजमा अध्ययनरत विद्यार्थी पढाइ छाडेर घर फर्केका हुन् । आन्दोलनका कारण विद्यार्थीले पटक–पटक सास्ती भोग्दै आएका छन् । खासगरी नेपाल, भुटान र थाइल्यान्डका विद्यार्थीका लागि आन्दोलनले प्रत्यक्ष असर पुगेको छ । ‘आन्दोलनका कारण अभिभावकले आफ्ना नानीहरूलाई दार्जि्लिङको साटो बेङ्लोरजस्ता सहरमा पढ्न पठाइरहेका छन्,’ सिलिगुडीका शिक्षक सुकराज दियाली भन्छन्, ‘अभिभावकको मनसाय के देखिन्छ भने खर्च गरेपछि आफ्ना नानीहरूले शान्तिसँग पढ्न पाऊन् ।’


