महानगर भन्न पनि लाज लाग्ने भन्दै देउवाले दिए यस्तो निर्देशन,- १५ दिनमा काठमाडौंका सडकमा खाल्डाखुल्डी देख्न नपरोस्

काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सडक, खानेपानी, विद्युत्, सडक विस्तार आयोजनालगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई बोलाएर सडकका खाल्डा तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न उहाँले निर्देशन दिनुभएको हो ।

शुक्रबार अपराह्न राजधानीको नेपालटारमा ३ कक्षामा अध्ययनरत विनिता फुयाँलको ढलको पानीले बगाएर निधन भएको थियो ।

यसैगरी, सामाखुसीमा पनि बालिका सत्या सापकोटाको ढलको पानीले बगाउँदा उद्धार गरिएको घटनाप्रति ध्यानाकर्षण भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले तत्काल यस्ता समस्या नदोहोरिने गरी समाधान गर्न सबै निकायका अधिकारीलाई समन्वयात्मक रुपमा काम गर्न निर्देश गर्नुभएको हो ।

“सरकार जनताका लागि बनेको हो, जनताको समस्यालाई हामीले कुनै हालतमा समाधान गर्नुपर्छ”, प्रधानमन्त्रीले भन्नुभयो, “काठमाडौँमा सडक हो कि पोखरी चिन्न नसक्ने अवस्था छ, साना विद्यार्थी हिँड्दा हिँड्दै ढलमा पसेका छन्, खाल्डाखुल्डीले महानगर भन्न पनि लाज लाग्ने अवस्था छ, तपाईंहरु के गरिरहनुभएको छ ? काठमाडौँ उपत्यकाका खाल्डा तत्काल पुर्नुहोस्, थप बजेट चाहिए म उपलब्ध गराउँछु ।”

प्रधानमन्त्री देउवाले सरोकारवाला निकायका प्रमुखलाई तत्काल स्थलगत रुपमा खटिएर समस्या समाधान गर्नसमेत निर्देशन दिनुभएको छ । “तपार्इंहरुले आजै स्थलगत रुपमा गएर काम गर्न निर्देशन दिनुस्, बढीमा १५ दिनभित्र काठमाडौँका खाल्डाहरु पुर्नुहोस्, फुटेका ढलहरु बनाउनुहोस्, ढलेका बिजुलीको पोल गाड्नुहोस्”, उहाँले भन्नुभयो, “मैले अबको १५ दिनभित्र काठमाडौँमा खाल्डाखुल्डी देख्न नपरोस्, मलाई यसको जानकारी दिनुहोस् ।”

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाका नेपाल टेलिकम, विद्युत् प्राधिकरण र सडक विभागले समन्वय गरेर काम गर्न पनि निर्देशन दिनुभएको छ । “एउटै खाल्डो खनेर बनाउन सकिने कामका लागि तपाईंहरु किन तीन पटक खाल्डो खन्नुहुन्छ”, उहाँले सोध्नुभयो, “अब समन्वय गरेर काम गर्नुहोस् ।”

प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार गर्नसमेत निर्देशन दिनुभयो । सेवा दिने निकायका काम निजी कम्पनीलाई करारमा लिएर पनि प्रभावकारी रुपमा गर्न सकिने उहाँको धारणा थियो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।