नेपाल भ्रमण गर्ने बङ्गलादेशका राष्ट्रपतिको चाहना
काठमाडौँ, ३ साउन । बङ्गलादेशका लागि नेपाली राजदुत प्रा डा चोपलाल भुसालले त्यहाँका राष्ट्रपति अब्दुल हमिद समक्ष आज ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।
बङ्गलाबन्धु भवनमा एक समारोहबीच उहाँले ओहोदाको प्रमाणपत्र बुझाउनुभएको बङ्गालादेशस्थित नेपाली दूतावासले जनाएको छ । समारोहमा दुवै देशको राष्ट्रिय गान बजाइएको थियो ।
सो अवसरमा राष्ट्रपतिसँगको भेटमा राजदूत भुसालले नेपाल–बङ्गलादेशबीचको द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहनलगायत विषयमा छलफल गर्नुभएको थियो ।
भेटमा बङ्गलादेशका राष्ट्रपति हमिदले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने राजदूत भुसाललसँग इच्छा व्यक्त गर्नुभएको थियो । रासस


