अरुण थापाप्रति सांगीतिक श्रद्धाञ्जलि, अरुणको गीत बाल गायक अधिश्री कसपालले गाउँदा दर्शकदीर्घा नै स्तब्ध

‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो, खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध’

भक्तपुर, साउन ५ । ‘चोट के हो, व्यथा के हो, मजस्तो घाइतेलाई सोध, मिलन के हो, खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध’

सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोडर्न बोर्डिङ सेकेन्डरी स्कुलको सभाकक्षमा नेपाली सुगम संगीतका अजर–अमर गायक एवं संगीतकार अरुण थापाको १८औं स्मृति दिवस मनाइरहँदा सुवास ढुंगेलको रचना रहेको सो गीत बालक अधिश्री कसपालले गाउँदा दर्शकदीर्घाका सबै स्तब्ध भए ।

थापालाई श्रद्धाञ्जलि अर्पण गर्न बिहीबार शुभारम्भ : द म्युजिकल जर्नी र विनिता संगीत कला केन्द्रले संयुक्तरुपमा थापाको १८औं स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जलि प्रस्तुत् गरे ।

मानिसको जीवनको ययार्थ बोकेका गीत गाएर लाखौंको मनको ढुकढुकी बन्न सफल थापाको गीत गुन्जिरहँदा थापा हामीअगाडि नै उभिएर गीत गाएझैं लागेको प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसी र स्कुलका संस्थापक बाबुकाजी कसपालले बताए ।

‘जति माया लाए पनि, जति कसम खाए पनि
निष्ठुरीले बाटो लाग्दा, आँखा तरी गएपछि,
मनमा पीर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो’
विनोद गौचनको रचना तथा थापाको स्वर–संगीत रहेको सो गीत नवगायक कपिल कसपालले गाउँदा पनि सबैको मन छोएको थियो ।

लाखौं संगीतप्रेमीहरुको ढुकढुकीमा बसिरहने थापाको गीतले सहभागी सयौंको मनलाई छोएको कलेजका प्रअ अनिल कसपालले बताए ।

कार्यक्रममा थापाले गाएको केशव लोहनीको रचना रहेको ‘तिमी राम राम भजी बाँच’ बोलको गीत बद्रीनारायण ताम्राकार, संगीता तामाङ र रिता तमखुले गाए भने नवराज कार्कीको रचना रहेको ‘करोडौं मुटुहरुको एउटै’ बोलको गीत समूहमा गाउँदा सभाकक्ष गुन्जायमान भएको थियो ।

चलचित्र निर्देशक, साहित्यकार, गायक–गायिका, लेखक, शिक्षासेवी, कलाकार, पत्रकार, अभिभावक, विद्यार्थीलगायत सयौंले भरिएको कक्षमा थापाले गाएको गीत गुन्जिँदा उनीप्रति सच्चा श्रद्धाञ्जलि भएको रचनाकार सुवास ढुंगेलले बताए ।

त्यस अवसरमा थापालाई समर्पित गर्दै उनले गाएका गीतमध्ये विक्रम गुरुङको रचना रहेको ‘आँखाको नीद बनी’, बोलको गीत सानुमैयाँ ताम्राकार, ‘के छ र दिऊँ तिमीलाई’ बोलको गीत दिवाकर खड्का र ऋतु कँडेल, राजेन्द्र रिजालको रचना रहेको ‘ऋतुहरुमा तिमी’ बोलको गीत सर्वश्री कसपाल, भूषण खरेलको रचना रहेको ‘म रोए पनि’ बोलको गीत सुरज कपालीले गाउँदा सहभागीहरु निकै आनन्दले गीत सुनिरहेका थिए ।

गीतकार चेतन कार्कीले थापा सबै संगीतप्रेमीको मन मनमा बसेको र उनका गीत सदियौं वर्षपछिसम्म पनि जीवन्त रहने बताउँदै यस्ता गायक, गीतकार र संगीतकारलाई राज्यले पनि सम्झनुपर्नेमा जोड दिए ।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रले नगरपालिकाले नेपाली गीत–संगीतको संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

चलचित्र निर्देशक प्रकाश सायमीले थापाको जादूमय स्वरलाई पछिल्ला पुस्ताले पनि आत्मासात् गर्नेमा शंका नभएको बताए ।

वि.सं. २००९ माघ ११ गते भारतको कोलकातामा जन्मिएका थापाको २०५६ साल साउन ५ गते काठमाडौंमा निधन भएको थियो ।

थापाका ‘अरुण’ र ‘द बेस्ट अफ अरुण’ गीति एल्बम नेपाली स्रोतामाझ निकै चर्चित भएको थियो ।

उनले गाएका गीत ‘भुलूँ भुलूँ लाग्यो मलाई’, ‘साँझको जूनसँगै’ ‘जिन्दगी के छ र आखिर’, ‘अरुसँग नजोख मलाई’, ‘दोष कसैलाई दिन चाहन्न’, ‘बितेका मेरा तीता मीठा’, ‘तिमी हेर्छौ भने’, ‘नपोखिने नजोखिने’, ‘यो मनको के भर हुन्छ’, ‘भुलेका कथा’, ‘जिन्दगीकाका यात्राहरु’, ‘लाग्न थाल्यो जीवनमा’जस्ता गीत चर्चित छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।