आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने

काठमाडौँ, २३ भदौ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आचारसंहिता उल्लंघन र निषेधको राजनीति गर्नेविरुद्ध आयोगले शून्य सहनशीलताको नीति अपनाउने बताउनुभएको छ ।

प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनमा खटिएका सूक्ष्म अनुगमनकर्ताका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित बनाउन सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

निर्वाचनमा हुनसक्ने आर्थिक चलखेलको सुक्ष्म अनुगमन गर्न निर्देशन दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “आम जनतामा निर्वाचनमा आचारसंहिता उल्लंघन हुन्छ भन्ने मनोविज्ञान अन्त्य गर्न आवश्यक छ, पैसाको धाकमा निर्वाचनलाई धुमिल हुन नदिनेतर्फ अनुगमनकर्ता सचेत हुनुपर्दछ ।”

आयुक्त सुधीरकुमार शाहले प्रचारप्रसारलाई भड्किलो हुनबाट रोक्न र निर्वाचन खर्चलाई आचारसंहिताको सीमाभित्र कायम राख्न सुक्ष्म अनुगमनकर्ताले दिने सूचना प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका सहसचिव दीपक सुवेदीले उम्मेदवारले गर्ने खर्चको सीमा र समग्रमा निर्वाचन आचारसंहिता पालना भए नभएकोबारे मसिनोसँग अनुगमन गर्न निर्देशन दिनुभयो ।

आयोगले प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा भदौ २४ गतेदेखि असोज ४ गतेसम्म निर्वाचन अनुगमनका लागि ४० जना सुक्ष्म अनुगमनकर्ता खटाएको हो ।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट १ महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कुल छ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।