मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, गाडी घेर्न लाग्दा उनी उम्किए
काठमाडौं । राजधानीको बानेश्वरमा मन्त्री सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। विपरित दिशाबाट आएको बा १ झ ७१६३ नम्बरको झन्डावाल गाडीले मोटसाइकललाई ठक्कर दिएको हो। ठक्करपछि स्थानीयले मन्त्रीको गाडी घेर्न लाग्दा उनी उम्किएका छन्।
बानेश्वर चोकमा खटिएका ट्राफिक प्रहरीले नै मन्त्रीको गाडीलाई रेस्क्यू गरेको छ। महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वरका प्रमुख मनोज शाहीले मन्त्री सवार गाडीले मोटरसाइकल चालकलार्इ ठक्कर दिएको पुष्टी गरे। उनले भने,‘ मन्त्रीज्यूको गाडीले ठक्कर दिएको हो, मन्त्रीको नाम थाहा भएन, पब्लिकले घेर्न थालेपछि रेस्क्यु गरिएको हो।
ट्राफिक प्रहरीले मोटरसाइकललाई ठक्कर दिने गाडीमा सवार मन्त्रीको नाम भने गोप्य राखेको छ । मन्त्रीको नामबारे जिज्ञासा रााख्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले यसबारे आफू अनविज्ञ रहेको बताए ।
‘फिल्डमा खटिएका ट्राफिकले मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको जानकारी गराए पनि को मन्त्री भन्ने मलाई जानकारी गराएनन्,’ डीआईजी खनालले भने । यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार सवारी साधनले पनि पैदल यात्रुलाई ठक्कर दिएको घटना छ ।


