आफ्नो मान्छे सफल हुने नदेखेपछि शिक्षक नियुक्तिको मुल्यांकन फाराम लिएर व्यवस्थापन समिति अध्यक्ष फरार
जाजरकोट, २५ भदौ । शिक्षक नियुक्तिका लागि अन्तरवार्ता भइरहेका बेला यहाँको एक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुल्यांकन फारम लिएर फरार भएका छन्। परीक्षावाट आफ्नो मान्छे सफल हुने नदेखेपछि जिल्लाको छेडागाड नगरपालिका १२ मनघाट स्थित चन्द्र ज्योति आधारभुत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष देवीलाल जैसी अन्तरवार्ता सकिने वित्तिकै आफुले राखेको मुल्यांकन फाराम लिएर फरार भएका हुन्।
शनिवार विद्यालयमा रिक्त रहेको प्राथमिक तहको राहत शिक्षक पदपुर्तिका लागि अन्तिम नतिजा निकाल्न भएको अन्तरवार्ता सकिने वित्तिकै फोन गर्ने वहानमा बनाएर शिक्षा कार्यालयको पर्खालबाट हामफालेर भागेको विद्यालय निरीक्षक मानवहादुर गिरीले बताए। व्यवस्थापन समितिका अध्यक्ष जैसीले अन्तरवार्ता सकिने बेला समेत उपस्थितिमा दस्तखत नगरी बसेको र अन्त्यमा फोन गर्ने निहु पारी भागेको बताए। गत साउन ७ गते पनि अध्यक्ष जैसी अन्तरवार्ता हुँदा हुँदै जिल्ला शिक्षा कार्यालयको परीक्षा हलवाट भागेका थिए। भदौ १८ गते नागरिकमा अध्यक्ष भागेपछि शिक्षक नियुक्ति रोकियो शिर्षक मा समाचार छापिएपछि जिल्ला स्थित विभिन्न विद्यार्थी संगठनहरुले शिक्षा कार्यालयमा तीन दिन भित्र शिक्षक नियुक्ति प्रक्रिया अघि बढाउन माग राख्दै आन्दोलन गरेका थिए।
साउन ७ गते एक जना मात्र उम्मेदवारको अन्तरवार्ता बाँकी हुदा भागेका अध्यक्ष जैसी यो पटक केहि सिप नलागेर आफुले राखेको मुल्यांकन फाराम नै लिएर भागेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। उनले शिक्षक नियुक्तिमा बदमासी गर्ने उक्त विद्यालयको वैंक खाता रोक्का गरेको र दरवन्दी नै कटौतीको कारबाहीको प्रक्रिया समेत अघि बढाइएको बताए। मुल्यांकन फाराम सहित अध्यक्ष भागेपछि फरार अध्यक्षलाई कारबाही गरि शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउन माग गर्दै शिक्षक पदका उम्मेदवार खीमवहादुर खड्काले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताए।
सवैले हस्ताक्षर गरेर अन्तिम नतिजा निकाल्ने तयारी गरेका वेला अध्यक्ष भागेर नियम कानुनकै खिल्ली उडेकोले न्याय माग्दै आफुले उजुरी दिएको खड्काले बताए। त्यस्तै व्यवस्थापन समितिका अध्यक्ष जैसीले आफुलाइ भौतिक कारबाही गर्ने धम्की दिएको प्रधानाध्यापक कर्णवहादुर शाहीले बताए। परीक्षामा खड्का सहित ५ जना प्रतिष्पर्धी छन्।
यस्तै नलगाड नगरपालिका ६ पिउली स्थित जनप्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपवहादुर विक पनि असार ११ गते अन्तरवार्ता हुँदा हुँदै भागेपछि रोकिएको परीक्षा अहिले सम्म हुने सकेको छैन। लामो समय सम्म अन्तरवार्ता नभएर शिक्षक नियुक्ति रोकिंदा पनि सरोकारवाला निकायले कुनै चासो नदिएको शिक्षक पदका उम्मेदवार मनोद शर्माले गुनासो गरे। दिपवहादुरले पनि आफनो मान्छे भर्ना गर्न नपाउने भएपछि अन्तरवार्तावाट भागेको शर्माले आरोप छ।


