आर्मीका खगेन्द्र बहादुर बने एकदिनका राजा, मन्त्रीले नै श्रीपेच लगाईदिएपछि…
लमजुङ । गोरखामा सोमबार सञ्चालन भएको लिगलिगे दौड प्रतियोगिता आठौँ संस्करणको उपाधी नेपाल आर्मीका खगेन्द्र बहादुर भाटले जित्नुभएको छ । मर्स्याङ्दी र चेपेको दोभानबाट लिगिलग कोटसम्मको झण्डै १२ किलोमिटर दूरी भाटले १ घण्टा २ मिनेटमा पूरा गर्नुभएको हो । यस्तै लमजुङ चितीका रामजी बस्नेत दोस्रो हुनुभएको छ । उहाँ पनि नेपाल आर्मीकै हुनुहुन्छ । उहाँले १ घण्टा ३ मिनेट २१ सेकेण्डमा दूरी पूरा गर्नुभएको हो ।

प्रतियोगितामा रामेछापका कृष्ण बस्नेत तेस्रो हुनुभएको छ । उहाँ पनि नेपाल आर्मीकै हुनुहुन्छ । उहाँले १ घण्टा ५ मिनेट २२ सेकेण्डमा दूरी पूरा गर्नुभएको लिगलिगकोट पुग्नुभएका स्थानीय सञ्चारकर्मी सुजन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा प्रथम हुने भाटले ५० हजार रुपैयाँ प्राप्त गर्नुभएको छ । उहाँलाई खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले श्रीपेचसमेत लगाइदिएर सम्मान गर्नुभयो । लिगिलिग दौडमा प्रथम हुनेलाई एकदिने राजा बनाउने प्रचलन छ ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले ३० हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा माल्दिभ्सका ४ जना खेलाडीको सहभागिता रहेको पनि न्यौपानले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा एक सय बढी धावकको सहभागिता थियो ।


