दशैंमा आऊछु भनेको छोरो १२ वर्षदेखि मलेसियामा बेपत्ता भएपछि आमाको आशा निराशामा परिणत

दशैँमा आउँछु भन्थ्यो आएन

मलेखु (धादिङ) । नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष भयो । विदेशबाट धन कमाएर ल्याई परिवारलाई सुख दिन्छु भनेर विदेश गएका लम्सालको छोरो कृष्णप्रसाद १२ वर्षदेखि मलेसियामा बेपत्ता छ । सिद्धलेक गाउँपालिका–६ की देवकी पण्डितका छोरा दामोदर विदेश गएको लामो समय भयो कहाँ भन्ने अत्तोपत्तो नभएपछि यस वर्षको दशैँ पनि अरु वर्षमा जस्तै बाटो हेरेर बित्ने भएको छ । “छोरा घर आउला र छिमेकीको घरमा जस्तै रमाइलो गरुँला” भन्ने उनको आशा निराशामा परिणत भएको छ ।

सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका–२ की अस्मिता पौडेल “घर आउँछु” भन्ने छोराको यादमै बित्ने पक्का भएको छ । चार वर्षअघि कुवेत गएका उनका छोरा सम्पर्कमा छैनन् । दशैँमा आउँछु भनेर फोन गरे पनि केही वर्षदेखि उनी कता हराए भन्ने कसैलाई थाहा छैन । साथीभाइले पनि पत्ता लगाउन सकेका छैनन् ।

आर्थिक अवस्था सुधार गर्नका लागि विदेशिएका व्यक्ति धमाधम बेपत्ता हुनु र चाडबाडमा समेत सम्पर्कमा नआउँदा घरमा रहेका परिवार आत्तिने गरेको मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो ।

वैदेशिक रोजगारीमा सुरक्षित तरिकाले जाने लगायतको सूचना तथा परामर्श उपलब्ध गराउँदै आएको सिर्ड्स धादिङले विदेश जाँदा अपनाउनुपर्ने विषय र अन्य सुरक्षित वैदेशिक रोजगारसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउँदै आए पनि विदेश गएर बेपत्ता भएकाको संख्या कम छैन ।

सिड्र्स धादिङका कार्यक्रम संयोजक गंगा सुवेदीले विदेश गएर बेपत्ता भएकाको खोजी गरिदिनका लागि निवेदन दिनेको संख्या धादिङ जिल्लामा ४५ जना रहेको जानकारी दिनुभयो ।

धादिङबाट विदेश गएकामध्ये मलेसियामा २५, कतारमा तीन, साउदी अरब र युएइमा चार चार, भारत र कुवेतमा तीन तीन, जर्जियामा दुई र इराकमा एक जना बेपत्ता भएको सूचना तथा परामर्श केन्द्र धादिङले जनाएको छ । जिल्लाको उत्तरी भागबाट बढी मानिस विदेशमा बेपत्ता छन् । झार्लाङ, तिप्लिङ, सेर्तुङ, रि, कुम्पुर, त्रिपुरेश्वर, बसेरी, जोगीमारा, थाँक्रे, नलाङ, धुवाँकोट, तसर्पु, सल्यानटारलगायत क्षेत्रबाट धेरै मानिस हराएको सूचना प्राप्त भएको छ ।

बेपत्ता हुनेको हकमा खोजी गर्नका लागि सरकारबाट कुनै पनि निश्चित संयन्त्र नहँुदा विदेशमा बेपत्ता भएकालाई खोजी गर्न अप्ठ्यारो परिरहेको छ । यद्यपि सूचना तथा परामर्श केन्द्रले विभिन्न छापा र अनलाइनमार्फत सूचना सार्वजनिक गरेर खोजी गरिरहेको छ । यही कारण यस वर्ष ४५ बेपत्तामध्ये १४ जना सम्पर्कमा आएको सुवेदीले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।