बडादशैंको अवसरमा बोले ज्ञानेन्द्र !, निकाले यस्तो विज्ञप्ति
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको भन्दै राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभसंकेत नभएको बताएका छन् ।

बडादसैंको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजिनिती हुनु आवश्यक भइसकेको उल्लेख गरेका छन् । ‘संवैधानिक अंगहरुको निष्पक्ष भूमकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहाँ पु¥याउ¤छ ?’, ज्ञानेन्द्रले भनेका छन् । पहुँच नभएका नेपालीले कुनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महसुस हुनुपर्ने परिस्थिति बनाइएको भन्दै उनले त्यसको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न गरेका छन् । दुरगामी महत्वका राष्ट्रिय मुद्धाहरुको निरुपण जनम मार्फत खोज्न हिच्किचाइएको र त्यसलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन ?’, उनको प्रश्न छ ।
जनमनमा रहेका अनेकौं प्रश्नको जवाफ दिने जिम्मेवार निकाय वास्तविकताको सामना नगरी तर्कन खोजेको अनुभूति आफूले गरिरहेको उनको भनाइ छ । पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी सम्वृद्धिको यात्रामा अगाडि बढ्न सकिने भन्दै उनले शान्त, स्थिर र सम्मानित नेपालको हेर्ने आफ्नो चाहना अझै पुरा हुन नसकेकामा दुःखी भएको सन्देशमा उल्लखे गरेका छन् ।
‘राष्ट्रिय स्वाभिमानसहितको प्रगति, नेपाली जनताले चाहेको हो । दुई विशाल छिमेकी मित्र राष्ट्रहरुबीच रहेको सुन्दर नेपाल, सेतु राष्ट्र हो । यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही बाह्य शक्तिद्वारा श्रोत परिचालन गरी प्रहार हुँदै आएको अनुभव, नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन । त्यसैले, एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहाँ स्वाभिमान गूम्ने र समृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनु परेको छ’, ज्ञानेन्द्रले भनेका छन् । ज्ञानेन्द्रले विजया दशमीको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।


