ओमनसँगको सम्झौता द्विपक्षीय सम्बन्धमा नयाँ आयाम

मस्कट (ओमन), प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्नुभएको सम्झौताले दुवै मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमनको औपचारिक भ्रमणका क्रममा मस्टकस्थित ग्राण्ड ह्यात होटलमा यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“यो सम्झौताले दुवै मुलुकबीच सहयोग र सम्भावनाका क्षेत्र पहिचान गर्न राम्रो शुरुवात भएको छ ।”

सम्मेलनमा परराष्ट्र सचिव शंकरदास वैरागीले सम्झौतापछि नेपालको लगानीका सम्भावनाका क्षेत्रमा ओमनको लगानी भित्र्याउन सहज हुने बताउँदै ओमनमा कार्यरत नेपाली कामदारका समस्या समाधानमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकालले सम्झौताले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै आपसी हितका लागि दुवै मुलुक मिलेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दुवै मुलुकका परराष्ट्रमन्त्री तथा अन्य उच्च अधिकारीको उपस्थितिमा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमण तथा दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४०औँ वर्ष पुगेकोे अवसरमा सो सम्झौता भएको हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको ७२औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी हुँदै यहाँ आइपुगेकोे हो । प्रधानमन्त्री देउवाको तीनदिने ओमनको कार्यक्रमलाई ओमन सरकारले औपचारिकता दिएको थियो ।

प्रधानमन्त्री देउवाको तीनदिने भ्रमणको अन्तिम दिन हिजो यहाँस्थित नेपाली दूतावासले विशेष रात्रिभोजको आयोजना गरेको थियो । भोजमा प्रधानमन्त्री देउवा, नेपाली प्रतिनिधिमण्डलका सदस्य, ओमन सरकारका उच्च अधिकारी, यहाँस्थित विदेशी नियोगका उच्च अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।