बोधार्थ सहित देउवालाई कार्यकर्ताको खुल्ला पत्र,- ‘मेरो पार्टी काङ्ग्रेस भनेर कसरी अनुहार देखाउने ?’

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू

प्रधानमन्त्री देउवाज्यू, माओवादीद्वारा हत्या गरिएका ८६ जना भन्दा बढी काँग्रेस कार्यकर्ताको रगतले भिजेको जिल्ला हो– रुकुम । अंगभंग, घाइते, सम्पत्ति लुटिएका, विस्थापित भएका हजारौं साथीहरूको पसिना बगेको छ– रुकुममा ।

म साधारण लेखपढ भएको गृहिणी महिला २०५३ असोज २६ गते रुकुमको सिम्म्रतु बजार प्रहरी चौकीनजिकै तत्कालीन खारा गाविस अध्यक्ष मेरा श्रीमान् टेकबहादुर ओलीको माओवादीले छुरी प्रहार गरी निर्ममतापूर्वक हत्या गरे । त्यतिबेला मेरा तीन छोरा क्रमशः आठ, पाँच र तीन वर्षका थिए । बाबुको हत्या भएको तीन महिनापछि एक छोरी जन्मेकी थिइन् । मेरो श्रीमान्को शव बोक्ने, १३ दिने धार्मिककार्यमा समेत एकजना मान्छे मेरो घरमा आउन डराउँथे ।

चुनाव लड्दा लागेको ऋणका कारण घरजग्गा लिलाम गर्ने बैंकले चिट्ठी लेखेको थियो । साँझ बिहान छाक टार्ने, बालबच्चाको शिक्षादीक्षाका लागि २५ वर्षको उमेरमा म विधुवाको काँधमा जिम्मेवारी आइपरेको थियो । मेरा लागि पार्टीबाहेक अरू कोही छैन भन्ने विश्वास संकल्पसाथ पार्टीको राजनीतिमा होमिने मेरो श्रीमान्को रगतको सम्मानका लागि लाग्ने निधो गरें । मलाई पूर्वमन्त्री गोपालजीजंग शाहले घर लिलाम हुनबाट बचाइदिनुभयो । उहाँको सहयोगमा बुटवलको बालगृहमा बालबच्चा राखियो । ०५४ को स्थानीय चुनावमा बमबारुदबीचमा उत्तेजना, आवेश, पीडा र बदलाको भावनाले जीवनको बाजी थापेर पहिलो रुकुमको खारा गाविस अध्यक्ष भएँ ।

मेरो जेठा छोराको पढाइमा आदरणीय खुमबहादुर खड्का दाइ आफैंले पैसा तिरेर एसएलसी सम्मको पढाइ पूरा गराइदिनुभयो । नेपाली कांग्रेस विभाजनपछि मलाई सहयोग गर्ने खड्का र गोपालजीजंग शाहको विभाजित पार्टीमा नलागेर नेपाली कांग्रेसमै बस्ने निधो गरें । महिला संघ रुकुमको १२ वर्ष जिल्ला अध्यक्ष भएँ । ११औं महाधिवेशनदेखि लगातार महाधिवेशन प्रतिनिधि छु । घरव्यवहार त्यागेर पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा काम गरे नगरेको रुकुमेली कांगे्रसजनलाई थाहा छ । ०६२÷०६३ को आन्दोलन, ०५५ देखि हालसम्मका निर्वाचनलगायत पार्टीका गतिविधिमा मलाई खोट लगाउने कुनै ठाउँ राखेको छैन । जाजरकोटको मैना कार्की (सहिदपत्नी) लाई सुजाता दिदीले तिमी समानुपातिकमा परेनौ भन्दा कार्कीले म सुन्दर पनि छैन, पैसा पनि छैन । त्यसैले परेन भनेकी थिइन् ।

म पनि केही पाउनभन्दा गुमाउने संकल्पमा पार्टीमा लागेको हुँ । तर माओवादी, एमालेका सहिदपत्नी मनकुमारी विष्ट र निर्मला विष्ट गाउँपालिका र तीर्था गौतम एमालेको समानुपातिकमा सिफारिस र अघिल्लोपटक सांसद पनि भइन् । ०६४ मा दामा शर्मा, ओनसरी घर्ती सांसद भए । अब कसरी रुकुमेली सहिदपत्नीहरूका अगाडि मेरो पार्टीले मलाई सम्मान गर्यो भनेर अनुहार देखाउने ? सकसमा परेकी छु । रुकुमेली कांग्रेसी नेताहरूसँग मेरो प्रश्न छ– काठमाण्डौंमा बसेर नेताको ढोका चहार्ने, अनैतिक गतिविधि गर्ने तर कोही रहेन मेरा लागि । मेरोबारेमा बोलेनन् जिल्लाका साथीहरू, त्यस अर्थमा दुःखी छु ।

रामचन्द्र दाइले प्रत्यक्षमा लडाउने भन्नुभयो तर सहिदका नाममा धनी पुँजीपतिलाई समानुपातिकमा राख्नुभयो । शशांक दाइले रुकुम कता पर्छ भन्ने थाहा नपाउनेको नाममा अडान गरेर सुचीकृत गर्नुभयो । तर, भूगोलमा बसेर पसिना बगाएको रगत बगाएको रेकर्ड सायद कुनै नेतासँग रहेनछ । तर, आदरणीय प्रधानमन्त्री, महामन्त्रीज्यूलाई म शरीरमा एक थोपा रगत रहुन्जेल सधैं लोकतन्त्रको पक्षमा अधिनायकवादको विरोधमा लागिरहनेछु । मेरा सन्ततिलाई पनि त्यही बाटोमा लगाइरहनेछु । तर, मजस्तै माओवादी हिंसाबाट सहादत प्राप्त गर्ने मेचीदेखि महाकालीसम्मका सहिदपत्नीहरूको मन दुखाउने काम नगर्नुहोला ।

म एक्लै तपार्इंहरूको ढोकामा पुगें तर मेरो आवाज नसुनेजस्तै एकल महिलाले राजनीतिमा लाग्दा कति अपमान, आत्मसम्मानमा चोट पुर्याउँछन् पुरुषहरूले । सहेर भोलिको पुस्तालाई प्रेरित गर्न कत्ति पनि विचलित छैन । नेपाली काँग्रेसले यसपटक पनि ठूलो पार्टी भएर लोकतन्त्रको रक्षा गर्दै देशलाई आर्थिक समृद्धिमा लैजाओस् । शुभकामना छ ।

बोधार्थ :
वरिष्ठ नेता, रामचन्द्र पौडेल
महामन्त्री शशांक कोइराला ।

उही सीता ओली
महाधिवेशन प्रतिनिधि
नेपाली काँग्रेस रुकुम ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।