‘सकंट’
“मलाई बचाईदिनुहोस हजुर ! सिर्फ एक पटकलाई बचाईदिनुहोस् । हुन त मान्छेलाई एउटा जिन्दगीमा पटक पटक मर्ने परिस्थितिको सृजना नहुन सक्छ तैपनी बचाईदिनुहोस् । मेरो लागी होइन हजुर यो विन्ति मेरा बच्चाका लागी हो ।”
विहानको खाना खाएर अल्छी मान्दै अफीसको बाहीर पट्टी बसीरहेको अवस्थामा एकाएक एउटा अपरिचित महिलाको हताशमा प्रस्तुत भएको विन्ती सुनेर दिनेश छक्क पर्यो । उनी भन्दै गइन्, “असाई साप म सबै कुरा हजुरलाई बताउछु । म अरु कोही भएको बेला यो कुरा बताउन सक्दिन । जसरी भएपनि मलाई बचाइदिनुहोस् मेरो घर जोगाइदिनुहोस् ।”
दिनेशले आफ्नो पुरै ध्यान ती महीलातर्फ केन्द्रीत गर्यो । उनको अनुहारमा देखिएको छट्पट्टीले गर्दा उनको उमेर कति जति हो भनेर पनि उसले अनुमान गर्न सकेन । कपाल पनि कयौ दिन देखि कोर्न नपाएको वा नभ्याएको झैं देखिन्थ्यो । कपडाहरु पनि मिलाएर लगाएको थिएन तथापी अभद्र खालको पनि देखिएको थिएन । एक पटक त उसलाई यो पागल कहाँबाट आइपुगी जस्तो महशुष भयो । तरपनि उसको हात जोडाई र विन्ती गराईले कुनै महत्वपूर्ण चीज हराएको छट्पट्टी हो की जस्तो पनि लाग्यो । उसले आफ्ना हात जोडेर घुडाँ टेकेको दृश्य एउटा अवोध बालकले भगवानका अगाडि शिर निहुराएको जस्तो देखिन्थ्यो ।
“को हो तँपाई ? के भो ? ” दिनेशले अली कडा स्वरमा प्रश्न गर्यो । उसको कडा स्वरले पनि उनलाई केही असर गरेजस्तो लागेन । फेरी पनि उनले आफ्ना कुराहरु राख्न छोडिनन् । उनले अनय विनय गर्दै सबै आफ्नो ठाँउ र मुद्धाका बारेमा केही कुरा गरेपछि भने बल्ल दिनेशलाई उनको बिषयमा अलि छर्लङ्ग भयो ।
अघिल्लो दिन मात्र चौकीमा केही मानिसहरु आएर एउटा मुद्धा दर्ता गरेर गएका थिए । मुद्धामा निवेदकहरुले खोलाचौर बस्ने वर्ष ३२ की हाम्री काकी मनमायाले काका विदेश गएको बेलामा अनैतिक सम्बन्धबाट गर्भ बोकी गर्भपतन गराएकोले नीजलाई कसको गर्भ राखेको हो उसैलाई जिम्मा लगाई घरबाट निकाला गराईपाउँ भन्ने भावमा एउटा निवेदन दर्ता गराएका थिए । उसले त्यो बिषयमा छलफल गर्न भनेर दुई दिन पछाडि दुवै पक्षलाई चौकीमा बोलाउन लगाएको थियो । समग्रमा त्यो निवेदनले उनलाई नै कारवाहीको माग गरेको थियो ।
उसले त्यो महिलाको अनुहारमा एकपटक राम्रो सगँ ध्यान दिएर हेर्यो, गंभीर भयो । उनमा भएको छट्पट्टी उनको आखाँमा र अनुहारमा प्रष्ट देखिन्थ्यो । त्यो आत्तिएको, अत्तालीएको र हड्बडाएको अवस्थामा उनलाई देख्दा उनी अपराधी नै हुन् की भन्ने महशुष पनि भयो उसलाई । यी अपराधी हुन की होइनन् त भनेर ऊ के सोचमग्न मात्र हुन लागेको थियो त्यतिकैमा उनले बोल्न शुरु गरिन्, “तपाँइले मलाई अपराधी हो भन्ने ठान्दै हुनुहुन्छ होला, हो म एक किसिमले अपराधी नै हु । मलाई दण्ड दिनुपर्छ । तर मेरो यसमा केही दोष छैन । मैले यस्तो होला भन्ने ..” उनी रोकीइन । र फेरी भन्न थालिन् “ म हजुरलाई सबै कुरा सुनाउछु । अनि तपाई आफै निर्णय गर्नुहोला ।

आफै अपराधी हु पनि भन्छे फेरी होइन जस्तो पनि गर्छे । अनुहार पनि दयालाग्दो छ कतै कसैको जालमा फसेर वा कसैले जबरजस्ती गरेर यस्तो परिणाम आएको त होइन । उसलाई अब खुल्दुली हुन थाल्यो । मनमा कता कता उनीप्रति दया पनि जागेर आयो । बास्तविकता बुझ्नका लागि अब उसलाई हतार लाग्न थाल्यो । अब साचो कुरा बुझ्नका लागी उनले एकान्त नै खोजेको हो भन्ने भएपछि उसले उनलाई भित्रपट्टि रहेको कोठामा लग्यो । कोठाको अधंकार कम गर्न बत्ती बाल्यो । र सबै कुरा नआत्तीकन र नडराईकन भन्नका लागी आग्रह गर्यो ।
चोर विरालोले दुध चोर्नु अगाडि यताउता घर मालिकलाई हेरेजस्तै गरि सबैतिर हेरीन् र ढोका बन्द गर्न आग्रह गरिन् । उसले कसैले सुन्दैन र कोही आउदैन भनेर विश्वास दिलाउदा पनि उनले नमानेपछि ऊ ढोका बन्द गर्न बाध्य हुन्छ । साथसाथै ऊ कतै मलाई केही घुष दिने बहाना त होइन यो भनेर पनि सोच्न थाल्छ । यदि दिइ भने के भन्नु भन्ने पनि उसको मनमा खेल्न थाल्छ ।
सबै दृष्टिकोणबाट सुनसान र गोप्य भन्ने भएपछि उनी आफ्ना कुरा ओकल्न थाल्छिन् । “हुन त असाइ साप, यो कुरा म कसैलाई पनि सुनाउन चाहान्न थिएँ । म त यो कुरा भगवानले पनि नसुने हुन्थ्यो भन्ने चाहान्थे । मेरो मात्र बिषय भएको भए त म यो कुरा कसैलाई पनि भन्ने थिइन । तर बच्चाको पनि बिषय जोडिएकोले मैले भन्नै पर्ने भो । म तपाँईलाई केही कुरा पनि लुकाउदिन ऊ भन्दै गई । मेरा दुइजना छोराछोरी छन् । एउटा नौ बर्षको छोरो अनि पाचँ बर्षकी छोरी । मेरा बुडा याँ छैनन् दुई बर्ष भयो बिदेश गका । मलाई एकदमै माया गर्छन । म पनि उनलाई असाध्यै माया गर्छु ।”
उनले धारा प्रवाह रुपमा आफ्ना कुरा राखिरहदा दिनेशलाई घरीघरी निसास्सिए जस्तो महशुष हुन्थ्यो । उसले आफ्नो जागिरको लगभग १४ वर्ष विताउदा धेरै प्रकारका मुद्धाहरु हेर्यो होला । प्राय फटाइ गर्नेहरुले आफ्ना अपराध कयौ कोशीष गरेर भएपनि लुकाउन नै खोज्थे तर उसलाई आज अचम्म लागिरहेको छ किनकी मनमाया आफै नै सबै कुरा गर्न तयार छिन् । यस्तो परिघटना सायद उसको कार्यकालमा यो नै पहिलो हुनुपर्दछ । सगीतमा लठ्ठ परेर बसे जस्तै गरी उ कुरा सुन्दै गयो ।
“त्यस्तै छ सात महिना अगाडि म एकजना आफन्तको बिहेमा गएकी थिएँ । घर दुइ तीन घण्टा हिडेर गएपछि बसमा त्यस्तै चार पाचँ घण्टा जतिको यात्रा गर्नु पथ्र्यो । बिहे सकेर फर्केको दिन खै के भएर हो गाडि असाध्यै भिड थियो । भिड बडि भएर चढ्न नै सकिन बल्ल बल्ल एउटा बसमा चढ्न त सफल भए तर त्यो पनि उस्तै भीड, बस्ने सीट पाइएला जस्तो लागेन । फेरी मलाई झ्यालको छेउको सिटमा बस्न मन पथ्र्यो । त्यस्तो भीडमा त्यो कसरी पाउनु ? तरपनि भाग्यले गर्दा मैले एउटा सीट भेटे । एउटा युवक झ्यालपट्टि बसेको थियो । लगभग आधा घण्टा त म त्यतिकै यात्रा गरेँ । धेरै भीडले गर्दा म उकुसमुकुस भइसकेकी थिएँ । गर्मी पनि उस्तै थियो । त्यसैले त्यो मान्छेसगँ सिट साट्न प्रस्ताव गरे । उसले बीना आनाकानी मेरो प्रस्ताव स्विकार गर्यो । मलाई सजिलो महशुष भयो । अगि नै भन्नु पर्ने रहेछ जस्तो लाग्यो । त्यसपछि मेरो ध्यान बाहिरको दृश्य तिर गयो । बर्षा याम शुरु हुने बेला भइसक्दा पनि झरी पर्न शुरु भएको थिएन । त्यसैले हरियाली खासै देखिएन, ठाँउहरु उजाड उजाड देखिन्थे मेरो जीवन जस्तै । झरी नपरेको जीवन । लगभग डेढ घण्टा जति हिडेपछि भने गाडि अलि पहाड र लेकतिर लाग्यो । बल्ल अलि चिसो महशुष भयो । त्यतिन्जेल मैले मेरो छेउमा बस्ने मान्छेलाई राम्ररी हेरेकी पनि थिइन । एकपटक उ तिर फर्किए । उ त अत्यन्तै सुन्दर रहेछ मेरा आखाँहरु उसका अनुहारमा गएर अड्किए । उसको आखाँमा हेरे उसले पनि मलाई नै हेरिरहेको थियो । न मैले मेरा आखा हटाउन सकेँ । न उसले नजर हटायो । मलाई लाज लाग्यो । ऊ मुस्कुरायो प्रेमको प्रस्ताव गरेजस्तै गरी म पनि जबाफ फर्काए झैं गरी मुस्कुराइदिन पुगेछु । मैले याहाँ केही कुरा पनि थपघट गरेकी छैन असाही साप ।”
उनी भन्दै गइन, “म बिवाह गर्नुभन्दा अगाडि पनि त्यस्तरी कोही मान्छेसगँ मुस्कुराएकी थिइन । हो असाइ साप म कहिल्यै मुस्कुराकी थिइन । तर त्यो दिन के भयो मलाई थाहा भएन । गाडि अत्यन्तै भीड भएकोले हाम्रो क्रियाकलाप शायद कसैले पनि देखेनन् । त्यसपछि त्यो युवकलाई कसरी हिम्मत आयो मलाई थाहा छैन । उसले बिस्तारै आफ्नो हात मेरो शरिरमा नजानिदो पाराले स्पर्श गराउन थाल्यो । कहाँ कहाँ के के गर्यो त्यो भन्ने हिम्मत छैन म सगँ तर मैले उसका कुनै क्रियाकलापहरुलाई बिना प्रतिरोध स्विकारीरहे । मानौ म नै उसलाई त्यो सब गर्न प्रेरित गरिरहेकी छु । अनि ऊ सबै कुरा मेरो स्विकृतिमा गरिरहेको छ । त्यसपछिको बसको यात्रामा मेरो शरिर त्यति चलेन जति मेरो मन चल्यो मेरो मष्तिष्क चल्यो । मैले किन उसको प्रतिकार गरिन म त्यो भन्न सक्तिन तर मेरो मनले उसका हरेका कामहरुलाई ठिक मान्दै गयो । त्यसपछि त गाडिको यात्रा गरेको पनि महशुष भएन मलाई । केही समय पछाडि मेरो ओर्लने स्टेशनमा बस रोकीयो । अरु पनि धेरै मान्छेहरु रोकीए । अनि म पनि मन नलागि नलागि बसबाट झरेँ ।
म बसबाट त ओलिए । तर मन गह्रौ भइरहेको थियो । त्यतिन्जेल सम्म हामी बीच केही कुरा पनि भएन । न उसले केही सोध्यो न मैले केही सोधे । खाली जे जे भयो मन मनमा भयो होला शायद । बसबाट ओर्लदा दिन निकै ढलिसकेको थियो । अरु बेला हो भने त म घर पुग्थे तर त्यो दिन के भयो मलाई हिड्नै मन लागेन । त्यो स्टेशनबाट लगभग आधाघण्टा पर मेरो सानीमाको छोरीको घर थियो त्यही गएर बस्नु पर्यो भन्ने सोच्दै थिए । पछाडि यसो के फर्केर हेरेको मात्र थिएँ । त्यो मान्छेपनि बसबाट ओर्लदै थियो । उसको ओर्लने ठाँउ त मलाई थाहा भएन । त्यही थियो वा म उभिएको देखेर ओर्लियो केही थाहा भएन । तर उ ओर्लियो मलाई हेर्यो मुस्कुरायो अनि म भएतिर नै आयो । म उसलाई पर्खिएजस्तै गरि बसीरहेकी थियँ होला शायद । उसलाई ध्यान नदिए झैं गरि म बिस्तारै बाटो लागे । उ पनि म सगँ सगै आयो केहीबेर सगै हिड्यो अनि आज यतै कुनै होटलमा बसौ न ल भनेर मलाई प्रस्ताव राख्यो । उसको प्रस्ताव त सिधै फर्किएर गालामा झापड फर्काउनु पर्ने खालको थियो तर मलाई नै खै के भएको थियो । मैले केही गर्न सकिन र केही भन्न पनि सकिन ।
बरु उसकै इशारा बमोजिम म उसको पछि पछि लागेँ । अलि अगाडि गएर हामी एउटा होटलमा बस्यौ । हो असाइसाप म अपराधी हुँ । हामीले सगै रात वितायौ । भोलिपल्ट बिहानै उठेर म आफ्नो घरतिर लागे उ कता गयो मलाई केही थाहा छैन । मैले उसगँ रात त बिताए तर मैले न उसको नाम सोधे न थर न गाउँ नै । हो हाम्रो बीचमा केही कुरा नै भएन । पछि म बिरामी भएर अस्पतालमा पुग्दा पो थाहा भयो । मैले डक्टरलाई पनि कसैलाइ नभन्दिनु, गोप्य राख्दिनु भन्न पनि भ्याइन । सबै कुरा यति हो असाइसाप । मेरो त केही छैन असाइ साप तर मेरा बालबच्चा । म ठुलो सकंटमा छु । मलाई तपाइले मात्र बचाउन सक्नुहुन्छ । मलाई बचाउनुहोस् । उनीहरुले मेरो लाग्नेलाई पनि फोन गर्दिसके अरे । हुन त मलाई उहाँले धेरै माया गर्नुहुन्छ । पत्याउनु पनि भएको छैन । तर के भन्ने लोग्नेमान्छेको जात ! हुन त तपाँइ पनि लोग्ने मान्छे …. तर जे भएपनि मलाई बचाउनुहोस् मेरो बालबच्चालाई । ”
दिनेशलाई एकपटक लोग्नेमान्छेको जात भन्ने शब्दले घोच्यो । चिसिक्क पार्यो । तरपनि उसले केही प्रतिक्रिया जनाएन । उसले मनमायालाई आज तपाँइ जानु म सोचेर छलफल गर्छु भनेर पठायो । एकपटक त्यतिबेला चाही किन सोचिनस् न बाल बच्चा भन्न पनि मन लागेको थियो तर उसले केही भन्न सकेन । कहिलेकाही मान्छेलाई के के कुराले विवश तुल्याइदिन्छ । दिनेशलाई मनमाया अपराधी हो जस्तो पनि लाग्यो होइन जस्तो पनि लाग्यो । केही दिनमा त्यो मुद्धाको बारेमा छलफल छ । त्यसलाई किनारा लगाउनु छ । कसरी गर्ने के निर्णय गर्ने के भन्ने के नभन्ने …. । दिनेश ठुलो संकटमा पर्यो ।

