खै !
प्रश्न: आज भेट्ने हो ?
उत्तर: खै !
यो प्रश्न मैले कहिलेकाहीँ मात्र उनलाई सोध्ने प्रश्न होइन । दिनहु सोधीरहने प्रश्न हो । बारम्बार सोधीरहने प्रश्न हो । हुन त मलाई आज भेटने भन्दा पनि अहिले नै भेट्ने हो भनेर सोध्न मन लाग्छ । ताकी म जुनसुकै बखत पनि उनलाई भेटीरहन सकुँ । मेरो मनले यही भन्छ, म यही चाहान्छु । तर पनि म सोध्ने बेलामा आज भेट्ने हो भनेर सोध्छु अनि उत्तर त्यही आउछ ।
उनलाई के लाग्छ त ? के उनलाई पनि मलाई जस्तै भेटीरहन मन लाग्छ ? की लाग्दैन ? म बारम्बार म सगँ प्रश्न गर्छु । उनलाई पनि यो प्रश्न गरौ की जस्तो नलागेको त होइन तर फेरी उत्तरका धेरै बिकल्पहरुमा लाग्दैन भन्ने बिकल्प छान्ने हुन की भनेर डर लाग्छ । अनि म सोध्न सक्दिन । यदि लाग्दैन भनेर फयाट्ट भनीहालीन भने फेरी मैले कसरी भेट्न बोलाउनु जस्तो लागेर पनि मैले सोध्न सक्दिन । अनेक कुराहरु मनमा खेलाउदै बसेको हुन्छु । बत्ती झलमल्ल बलीरहेको हुन्छ । बिस्तारै बिस्तारबाट मोवाइल झिक्छु, मोबाइलबाट म्यासेज पठाउछुँ र सोध्छु । भोलि भेट्ने हो । उत्तर फेरी त्यही आउछ । खै !
उनलाई लाग्दो होला हिजो मात्रै भेटेको कति भेट्नु ? यो मेरो मात्र सोचाइ हो खासमा उनलाई कस्तो लाग्छ त भन्ने कुरा म कसरी जान्दछु र ? उनले कहिल्यै पनि भनेकी छैनन् । हुन त उनीभित्र पनि मेरो लागि केही ठाँउ पक्कै हुनुपर्छ नत्र सिधै नभेट्ने वा कहिल्यै नभेट्ने भनेर पनि त भन्न सक्थिन् नी हैन र ? म कहिलेकाही आफैलाई प्रश्न गर्छु । कहिले काही त मेरो बारम्बार भेट्न मन लागिरहने बानीले उनलाई दिक्दार बनाउदो होला शायद । उनले नभेट्ने भनेर जवाफ दिन्छीन । कोठामा बत्ती हुदैन । सलाई पारेर मैनबत्ति सल्काउछु बिस्तारै टेवलमा बत्ती राख्छु अनि फेरी म कहिल्यै नभेट्ने त भनेर फोनमा सोध्छु । अनि फेरी उत्तर आउछ । खै !

म कहिलेकाही एउटा गीत सम्झन्छु । खै जिन्दगी हाम्रो के जिन्दगी हो सुख छैन मनमा …. अनि त्यसलाई फेरी आफ्नै परिस्थितिसगँ तुलना गर्न पुग्छु । खै सम्बन्ध हाम्रो के सम्बन्ध हो … खै मित्रता हाम्रो के मित्रता हो .. खै पिरती हाम्रो के पिरती हो …. सुख छैन मनमा चैन छैन मनमा ।। अनि कल्पनामा धेरै बेर बतासिन्छ मेरो मन पनि । नदी दौडिएर सागरलाई भेट्न गएजस्तै निरन्तर मेरो मन पनि उनलाई भेट्न खोजिरहन्छ, दौडिरहन्छ अनि फेरी एउटा प्रश्न लिएर फर्कन्छ । शिर शिर बतास चलिरहेको हुन्छ । मसिना धुलोका कणहरु कपडामा थपिरहेका हुन्छन् । टक्टकाउछु बिस्तारै र म इन्टरनेटमा बाट प्रश्न गर्छु शनिबार भेट्ने हो ? अनि फेरी उत्तर त्यही । खै !
एकपटक भेट भएपछि त केही दिन, केही हप्ता, केही महिना, केही बर्ष फेरी भेट्न मन नलाग्नु नी । म आफ्नै मनलाई सम्झाउन खोज्छु । भेटेर छुट्ने बेला नहुदै फेरी भेट्ने समय, घडि र दिन र बार तोक्नलाई कर गरिरहन्छ मन । म भन्छु मन मान्दैन मन भन्छ कहिलेकाही त म अटेर गर्छु तर फेरी नमानी कर लाग्दैन । सिमसिम पानी परिरहेको हुन्छ । बाटो चिप्लो छ । खासमा घरबाट बाहीर निस्कन नपरे नी हुन्थ्यो भन्ने लाग्छ तरपनि आखिर म सोध्न बाध्य हुन्छु वा भनौ मलाई मनले बाध्य बनाउछ र सोध्छु । अनि उत्तर त्यही आउछ ।
यो खै ! भन्ने शब्दले के उनमा म प्रति रहेको अन्योलता मात्र ब्यक्त गर्छ त ? या अरु केही ? वा उनको मनमा भएको दोधार ? शायद उनको म प्रतिको हेराई पनि, दृष्टिकोण पनि । यही शब्दलाई आधार बनाएर म कहिलेकाही धेरै समय सोचिरहन्छु । उनले मलाई के सोच्छीन् होला भनेर । कतै नराम्रो पो सोध्छीन् की जस्तो पनि मलाई बेला बेला लागिरहन्छ । चर्को घाम, भत्भती पोल्ने गरी लागिरहेको हुन्छ । तिर्खा लागिरहेको हुन्छ । पानी पिउन भन्दा पनि हतार भएको मेरो मनको आग्रहलाई म पन्छाउन, टार्न वा ढाट्न केही गर्न सक्दिन र सोध्छु पर्सी भेट्ने हो ? … खै !
जब हामी भेट्छौ तब कतै क्याफेमा वा पार्कमा । तब हामी एकदम नजिकै बस्छौ र गफ गर्छौ । एक्लै हुदाँ यो कुरा गर्छु आज त्यो कुरा गर्छु भनेर मैले लामो लिष्ट नै बनाएको हुन्छु तर भेटेपछि त्यस्तो हुदैन । गर्ने कुराहरु नै केही हुदैनन् । सामान्य कुरा हुन्छन् के छ कसो छ । भेटौ गफ गरौ भनेर बोलाउछु म । तर फेरी भेट भएपछि त गर्ने कुरै भेट्दिन, देख्दिन । यस्तो किन हुन्छ ? म कहिलेकाही अलमलमा पर्छु जब उनी के गफ छ गर्नु भनेको होइन भनेर भन्छिन् । म कसरी भन्न सक्छु त्यतिबेला की म सगँ गर्ने कुरा नै केही छैन भनेर । मलाई अफ्ठेरो महशुष पनि भइरहन्छ । तरपनि के के कुराले त्यो सवाललाई टार्छु म । विस्तारै साझ पर्दै गइराखेको हुन्छ । छुट्टिने बेला आउछ । छुट्ने बेलामा बिदा लिनु अगाडि म प्रश्न गर्न छोड्दीन । अब कहिले भेट्ने ? मलाई लाग्छ उनले दिन तोक्छिन् भन्ने तर फेरी उत्तर त्यही आउछ ।
मलाई थाहा छैन उनी भेटेको बेला के हेर्छीन ? तर मलाई थाहा छ म उनलाई हेर्छु । याहाँ उनलाई भनेको उनी सम्पूर्णलाई होइन । उनी भनेको त्यो अगं हो त्यो भाग हो उनको शरिरको जहाँ उनलाई मैले हेरेको देख्दा उनलाई लाज लागेको महशुष हुन्छ । हो म उनको आखा हेर्ने गर्छु अनि उनी लजाउछिन् । म पागल हुन्छु होला शायद कुनै दिन । म कहिलेकाही यस्तो पनि सोच्ने गर्छु । किन मलाई हेर्न मन लागिरहन्छ । आखिर के छ त्यसमा ? के म आफैलाई त्यसभित्र त पाउदिन । खै ! जे होस यो मेरो आदत भइसकेको छ । जसलाई म यति सजिलै छोड्न पनि सक्दिन तर बास्तविकता त के हो भने म यो छोड्नै चाँहादिन ।
के म उनको आखा मात्र हेर्छु होला त ? होइन म अरु पनि धेरै कुरा हेर्छु । बर्षाको पानी उनको शरिरमा परेको बेला होस या टन्टलापुर घाम लागेको बेला होस् म हेरिराख्छु र हेरिरहन चाहान्छु पनि । कपाल बाट तप्प तप्प पानी चुहीएर भिजेको बेला पनि हेर्छु अनि नभिजेको बेला पनि । जो देख्न सकिन्छ त्यो हेर्छु अनि जे देख्न सकिदैन त्यो पनि हेर्छु । हो म उनको मन पनि हेर्छु शायद । म उनको मनमा म कहाँ छु भनेर हेर्ने गर्छु ।
म खाली हेर्ने मात्र गर्दिन । उनलाई छुने पनि गर्छु । एकदिन मैले उनको हातमा छोए नथापाए जस्तो गरि । उनले केही भनीनन् । थाहा नपाएर त हैन होला पक्कै पनि । त्यसपछि अचम्मको कुरा चाही मलाई छोड्नै मन लागेन त्यो हात । मलाई कहिल्यै पनि त्यस्तो भएको थिएन । म प्रायः सधै उनलाई भेटीरहन्थे अनि फेरी छोइपनि रहन्थे । हो मैले उनको छाम्न नसकिने ठाँउ पनि छामे शायद, उनको मन पनि छामे होला । उज्यालो दिनमा, उज्यालो घाममा ।
के म साच्चै उनलाई प्रेम गर्थे त ? के उनी पनि मलाई प्रेम गर्थीन त ? उनकै शब्द पैचो लिएर भन्नुपर्छ होला मैले शायद । खै ! थियो भनेपनि कति थियो ? कस्तो थियो त ? हुन त प्रेमलाई कसरी जाँच्न सकिन्छ र ? प्रेम अमर हुन्छ भन्छन् । कहिल्यै मर्दैन भन्छन् के मेरो प्रेम पनि कहिल्यै नमर्ने प्रेम हो त ? अनि उनको प्रेम ? मलाई एकदिन उनलाई सोध्न मन लाग्छ । चरा चुरुङगींहरु कराइरहेका हुन्छन् । बतास सिर्र सिर्र चलिरहेको हुन्छ अनि म उनलाई प्रश्न गर्छु के तिमी म सगँ प्रेम गछ्यौ ? अनि उत्तर आउछ । खै !
एकदिन एक्लै एकान्तमा म बसिरहेको थिएँ । मलाई उनकै याद आइरहेको थियो । मैले बगैचामा फूलेको फूलहरुमा उनलाई देखिरहेको थिएँ शायद । फूलहरुले छर्ने रगंमा उनलाइ पाइरहेको थिएँ । यताउता बतासले बोट हल्लाउदा पनि तरंगीत भएर हल्लिरहेको थिएँ म । मैले उनलाई म भित्रै पाईरहेको थिएँ वा बाहिर त्यो त मलाई प्रष्ट भएन तर मेरा मनका अनगिन्ती तरगंहरुमा उनी तरंगीत थिइन । मेरो बासनाका, मेरो कामनाका, मेरा भावनाका मैदानहरुमा उनी डुलिरहेकी थिइन् । अनि धेरै बेर टोलाइसकेपछि म होशमा आएँ । मलाई थाहा थियो अब हाम्रो भेट भइरहदैन । कालो बादल मडारीरहेको थियो । धर्ती अन्धकार भईरहेको थियो । पानी पर्न खोज्दै थियो तर पर्न सकिरहेको थिएन । अनि मैले मलाई सोधे । के म उनलाई प्रेम गर्छु ? यसपटक मैले उनको शब्द सापटी लिएर उत्तर दिन मन लाग्यो । खै !


