अंगिकृत नागरिकता लिएकी अनुराधालाई प्रदेश प्रमुख ? : सरिता गिरी
काठमाडौं, ३ माघ । प्रदेश प्रमुख नियुक्त गर्न बालुवाटारमा मन्त्रिपरिषद बैठक चल्दै गर्दा समाजसेवी अनुराधा कोइराला प्रदेश नम्बर ३ को प्रदेश प्रमुख हुनेमा चर्चा चल्यो । तर, प्रदेश प्रमुखको रुपमा चर्चा भइरहेकै बेला बुधबार बिहानै पूर्वमन्त्री सरिता गिरीले एउटा यस्तो ट्वीट गरिन्, जसले प्रदेश प्रमुख बन्नुअघि नै अनुराधा कोइरालालाई विवाद र बहसमा तानेको छ ।
ट्वीट यस्तो छ :

‘अनुराधाजीको नाम प्रदेश प्रमुखमा आइरहेको छ । उनको विरुद्धमा मैले भन्नुपर्ने केही छैन । उहाँ अन्तराष्ट्रिय ख्याति प्राप्त महिला हुनुहुन्छ । धेरै महिलाको उद्दार गर्नुभएको छ । तर, मैले राज्यसँग सम्वाद गर्नुपर्छ ।’
पूर्वसांसद गिरीले आफ्नो टि्वटमा अनुराधा कोइरालाबारे थप भनेकी छिन्- ‘मैले जानेअनुसार उहाँ दार्जीलिङको हुनुहुन्छ र विवाहपछि नेपाली नागरिक हुनु भएको हो । म गल्ती पनि हुनसक्छ । तर, यदि यो सत्य हो भने नागरिकता कानुनको सम्बन्धमा राज्यको द्वैध नीति पुनः प्रमाणित भएको छ ।’


